
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शिर्ष क्लबहरु लिभरपुल र चेल्सी विजयी भएका छन् ।
अंक तालिकाको दोस्रो स्थानमा रहेको लिभरपुलले शनिबार राति भएको खेलमा वेष्ट ह्याम युनाइटेडलाई १–० ले पराजित गरेको हो । लिभरपुलको जितमा सादियो मानेले २७ औं मिनेटमा निर्णायक गोल गरे ।
यो जितसँगै लिभरपुलले अंक तालिकामा शिर्ष स्थानको म्यान्चेस्टर सिटीसँगको दुरीलाई ३ अंकमा सिमित गरेको छ । २७ खेलबाट सिटीको ६६ अंक रहँदा लिभरपुलको ६३ अंक भएको छ । एक खेल कम खेलेको चेल्सीको ५३ अंक छ ।
शनिबार राति नै भएको अर्काे खेलमा चेल्सीले बर्नेलेमाथि ४–० को प्रभावशाली जित निकाल्यो । चेल्सीका लागि काई हाभर्ट्जले दुई गोल गर्दा रिस जेम्स र क्रिश्चियन पुलिसिकले एक एक गोल थपे ।
प्रिमियर लिगकै अन्य खेलहरुमा लेष्टर सिटीले लिड्स युनाइटेडलाई १–० ले पराजित गर्दा एस्टन भिल्लाले साउथह्याम्पटनमाथि ४–० को जित निकाल्यो । यसैगरी, न्युकासल युनाइटेडले ब्राइटनलाई २–१ ले, ब्रेन्टफोर्डले नरिच सिटीलाई ३–१ ले तथा क्रिष्टल प्यालेसले वुल्भरह्याम्पटन वान्डरर्सलाई २–० ले पराजित गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्