३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

८ जिल्लामा कांग्रेस सभापति चयन, ८ जिल्ला बाँकी


208
Shares

काठमाडौं । पछिल्लो चरणमा नेपाली कांग्रेसको अधिवेशन भइरहेका १६ जिल्लामध्ये ८ जिल्लाको सभापति चयन भएका छन् ।

तीमध्ये धेरै जसोमा आफ्नो पक्षले जितेको नेता डा. शेखर कोइराला पक्षको दाबी छ । चितवन, सिन्धुली, बाँके र नवलपुरमा नेता शेखर पक्षका उम्मेदवार विजयी भएका हुन् ।

चितवनमा राजेश्वर खनाल, सिन्धुलीमा उपेन्द्र पोखरेल, बाँकेमा नारायण गौडेल र नवलपरासीमा विजयी महेन्द्रध्वज जिसी संस्थापनइतरका हुन् । महोत्तरी जिल्ला सभापतिमा निर्वाचित नागेश्वर यादवले आफू स्वतन्त्र भएको दाबी गर्नुभएको छ ।

८ जिल्लाको सभापति चयन हुँदा संस्थापन पक्षका तीन सभापति चयन भएका छन् । कैलालीका नारायणदत्त भट्ट, मकवानपुरका बुद्ध लामा र पर्साका जनार्दनसिंह क्षत्री संस्थापन पक्षका हुन् ।

कांग्रेसको १४औं महाधिवेशनअघि जिल्ला अधिवेशन हुनुपर्नेमा १६ जिल्लाको अधिवेशन हुन सकेको थिएन । आइतबारसम्म आठ जिल्लाको अधिवेशन सकियो भने ८ जिल्लाको बाँकी छ ।

अब सिरहा, सप्तरी, धनुषा, अछाम, रौतहट, बारा, सर्लाही र सिन्धुपाल्चोकमा अध्यक्ष चयन हुन बाँकी छ । हालसम्म ६९ जिल्लाको अधिवेशन सकिँदा बहुमत स्थानमा संस्थापन पक्षका जिल्ला सभापति विजयी भएका छन् । ३७ जिल्लामा संस्थापन र ३२ जिल्लामा शेखर पक्षका सभापति चयन भएका छन् ।