
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले बाँकी रहेका केही जिल्लामा आज (साेमबार) महाधिवेशन गर्दैछ ।
मधेस प्रदेशका चार जिल्लासहित पाँच जिल्लामा कांग्रेसले जिल्ला नेतृत्व चयन गर्न लागेको हो । नेतृत्व चयनमा सहमति नजुटेपछि मधेशका धनुषा, सिरहा, सर्लाही र रौतहटमा मतदान हुन लागेको हो ।
यसक्रममा धनुषामा त्रिपक्षीय प्रतिस्र्धा हुँदैछ । संस्थापन पक्षबाट सभापतिमा सन्तोष यादव, विमलेन्द्र निधि पक्षबाट योगेन्द्र पञ्जियार र डा.शेखर कोइराला पक्षबाट दिनेश प्रसैला यादव प्रतिस्पर्धामा हुनुहुन्छ । तीनै जना प्यानलसहित नै मैदानमा उत्रिनुभएको हो ।
तीन उम्मेदवारबीच तीब्र प्रतिष्पर्धा रहेकाले पहिलो चरणमै ५१ प्रतिशत मत ल्याएर विजयी हुने सम्भावना भने कमै रहेको बताइएको छ । सिरहामा भने पूर्वसभापति रामचन्द्र यादव र रामसुन्दर चौधरी प्रतिस्पर्धामा रहँदा यादवलाई संस्थापन र चौधरीलाई इतर पक्षको समर्थन छ ।
सर्लाही र रौतहटमा दुई–दुई उम्मेदवार मात्र उम्मेदवार रहेकाले पहिलो चरणमै परिणाम आउने छ । सर्लाही सभापतिका लागि संस्थापनबाट सुरेन्द्र सिंह र इतर पक्षबाट लक्ष्मण राय यादव चुनावी मैदानमा रहँदा रौतहटमा सभापतिका लागि संस्थापनबाट सुनिल कुमार यादव र इतर पक्षबाट हृदयनारायण यादव प्रतिस्पर्धामा हुनुहुन्छ ।
उता, अछाममा पनि सभापतिका लागि दोस्रो चरणको मतदानका लागि पुष्प शाह र भरतकुमार स्वाँरब मैदानमा हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्