
काठमाडौं । निर्वाचन आयोगले अबको मतपत्रमा निर्वाचन चिन्ह हरियो रङको हुने बताएको छ ।
सोमबार आयोगले अगामी स्थानीय निर्वाचनको तयारीबारे गरेको नियमित पत्रकार सम्मेलनमा अबको मतपत्रमा निर्वाचन चिन्ह हरियो रङको हुने बताएको बताएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै आयोगका सूचना अधिकारी सुर्यप्रसाद अर्यालले निर्वाचनसम्बन्धी छपाई सामग्रीहरु निर्वाचन प्रचारप्रसार सामग्री, निर्देशिका, फारम आदि छपाइका लागि छापाखानाहरु र सामग्री ढुवानी व्यवस्थापनका लागि हेलिकप्टर, ट्रक तथा कुरियर सेवा लिन सम्बन्धित फर्म संस्थाहरु सूचिकृतका लागि सार्वजनिक सूचना गरिएको पनि जानकारी दिनुभयो ।
उहाँले मतदाता नामावली अद्यावधिक दाबी बिरोधको समेत कार्यक्रम २०७८ अन्तर्गत मतदाता नामावलीमा रहेको त्रुटी सच्याउन निवेदन दिने, झुटो विवरण दिइ नामावलीमा नाम समावेश गरेको भए सोको बिरोधमा उजुरी दिने, कुनै पनि मतदाताको नाम एक भन्दा बढी स्थानमा समावेश भएको भए एक स्थानमा मात्र निवेदन दिन आग्रह गर्ने र मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि सूचना दिने तथा उजुरी परेको मतदातालाई प्रमाणसहित सफाईको मौका दिने निर्णय भएको पनि बताउनुभयो ।
अर्यालले निर्वाचन प्रचारप्रसार र मतदाता शिक्षाको लागि अडियो भिडियो सामग्री तयारी गर्नको लागि निर्वाचन सम्बन्धी गीति सन्देश, संवादमुलक सन्देश तथा चलचित्र लघुकथा लेखन प्रतियोगिताका लागि प्रकाशित सार्वजनिक सूचना बमोजिम प्राप्त भएका रचनाहरुको मूल्यांकन भइरहेको र उक्त सामग्रीहरु मतदाता शिक्षाको लागि निर्वाचन आयोगले अडियो सामग्री तथा भिडियो सामग्रीमा उपयोग गर्ने पनि बताउनुभयो ।
आगामी वर्ष २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले धमाधम तयारी गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्