
सर्लाही । नेपाली कांग्रेस सर्लाहीको निर्वाचन स्थगित भएको छ ।
दुई पक्षबीचको विवादका कारण सोमबारका लागि तय भएको निर्वाचन अनिश्चित समयका लागि स्थगित गरिएको हो ।
निर्वाचन अधिकृत नागेश्वर प्रसाद सिंहले विशेष परिस्थितिका कारण निर्वाचन गराउन नसकिएको भन्दै अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि निर्वाचन स्थगित गरिएको सूचना जारी गर्नुभएको छ ।
बिहान ९ बजेदेखि सुरु हुने भनिएको निर्वाचन दिउँसो १ बजे सूचना टाँसेर स्थगित गरिएको थियो । निर्वाचन स्थगित भएपछि मतदान स्थल पब्लिक माध्यमिक विद्यालय बाहिर मतदाताहरुले नाराबाजी गरेका थिए ।
मतदानका लागि भन्दै बिहानै जिल्लाभरबाट नेता कार्यकर्ताहरु सदरमुकाम मलंगवा पुगेका थिए । ४ घण्टासम्म तातो घाममा लाइन बसेर मतदान गर्न नपाएको भन्दै कार्यकर्ताहरु आक्रोशित बनेका हुन् ।
सोमबार हुने भनिएको निर्वाचनका लागि सर्लाहीका २० स्थानीय तहका २ सय वडाबाट छानिएका क्षेत्रीय प्रतिनिधि मतदानस्थलमा पुगेका थिए । पदाधिकारी र सदस्य गरी ९३ जना चयन गर्न जिल्लामा तीन हजार २८७ जना क्षेत्रीय प्रतिनिधि अर्थात् मतदाता रहेका छन् ।
कांग्रेस सर्लाहीको सभापतिमा संस्थापन पक्ष अर्थात् सभापति शेरबहादुर देउवा पक्षबाट सुरेन्द्रप्रसाद सिंह र शेखर कोइराला पक्षबाट लक्ष्मण रायको प्यानल चुनावी मैदानमा छन् ।
प्रतिक्रिया दिनुहोस्