१ बैशाख २०८२, सोमबार | Tue Apr 15 2025


टी प्लस टुमा सेटलमेन्ट नगर्ने ब्रोकरलाई तत्काल कारबाही हुन्छ : बोर्ड अध्यक्ष हमाल


0
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले टी प्लस टुमा सेटलमेन्ट नगर्ने ब्रोकरलाई तत्काल कारबाही गर्ने बताउनुभएको छ ।

बोर्डले सोमबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष हमालले ब्रोकरहरुले लगानीकर्तालाई पैसा नदिने र अन्यत्र लगानी गर्ने गरेको पाइए तत्काल कारबाही गर्ने बताउनुभएको हो । साना लगानीकर्ताको हितमा बोर्डले काम गर्नुपर्ने अबको आवश्यकता भएको अध्यक्ष हमालको भनाई छ । लगानीकर्तालाई लागत बढी परिरहेको स्वीकार्दै उहाँले शुल्क घटाउने विषयमा अध्ययन गर्ने आश्वासन दिनुभयो । उहाँले कुनै पनि इन्साइडर ट्रेडिङ गरेको प्रमाणित भए तत्काल कारबाही गर्ने प्रतिवद्धता जनाउनुभयो ।

हमालले धेरै नाफा कमाउने रियल स्टेट कम्पनीहरुलाई बुक विल्डिङबाट आईपीओ जारी गर्न दिएर पुँजी बजारमा ल्याउने बताउनुभयो । उहाँले नेपालमा १२ सयभन्दा धेरै सरकारलाई राजश्व तिर्ने कम्पनीहरु नै नेप्सेमा सुचिकृत नभएकाले त्यस्ता कम्पनीलाई नेप्सेमा समावेश गर्न बोर्डले सहजीकरण गर्ने योजना रहेको बताउनुभयो । ठूला कम्पनीहरु नेप्सेमा समावेश भए लगानीकर्ताको जोखिम कम हुने उहाँले बताउनुभयो ।

हमालले वित्तीय साक्षरता बढाउन क्यापिटल मार्केट सेन्टर नै खोल्ने तयारीमा बोर्ड लागेको जानकारी दिनुभयो । उहाँले विदेशमा रहेका नेपालीलाई आइपीओमा आरक्षण दिने विषयमा अध्ययन भइरहेको बताउनुभयो ।