
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने सबै प्रकारका विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रण सबैले गर्नुपर्नेमा जोड दिनुभएको छ ।
आज (मंगलबार) ११२औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना सन्देश दिंँदेै उहाँले महिला विरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं विकृत प्रथालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चित गर्ने यात्रामा निरन्तर लागिरहन थप ऊर्जा र उत्साह प्राप्त हुन सकोस् भन्दै शुभकामना व्यक्त गर्नुभएको हाे।
त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले पनि ‘सामाजिक न्याय र लैङ्गिक समानता र दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ मनाउन लागिएको ११२औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सबैमा शुभकामना सन्देश दिनुभएको छ ।
उहाँले महिलाका हक, अधिकार र न्याय सुनिश्चित गर्न योगदान गर्नुहुने तथा जीवन समर्पण गर्नुहुने महिला योद्धाहरूलाई विशेष सम्मानका साथ स्मरण समेत गर्नुभयाे।
प्रधानमन्त्री देउवाले महिलालाई सामाजिक, राजनीतिक, सांस्कृतिक र आर्थिक अवसरहरूमा बिना कुनै भेदभाव समान अवसर उपलब्ध गराउन र लैङ्गिक समानताको बाटोमा अघि बढ्न आजको दिनले सबैलाई उत्प्रेरित गर्दै आएको उल्लेख गर्नुभएको छ।
नेपालको संविधानले महिलाउपर हुने सबै प्रकारका भेदभावहरूको अन्त्य गर्दै समानुपातिक, समावेशी एवं समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको उहाँकाे तर्क छ ।
संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा स्थापित गरी महिलालाई लैङ्गिक भेदभावविना समान वंशीय हक, सुरक्षित मातृत्व र प्रजननसम्बन्धी हक, पैतृक सम्पत्तिलगायत सबै विषयमा समान हक आदिको प्रत्याभूति गरेको शुभकामना सन्देशमा उल्लेख गरिएकाे छ। राज्यका सबै निकायमा महिलाहरूको समानुपातिक समावेशितालाई सुनिश्चित साे सन्देशमा भनिएकाे छ ।
महिलाविरुद्ध हुने कुनै पनि किसिमका हिंसाजन्य कार्य र शोषणलाई दण्डनीय बनाएको समेत दावी गर्नुभएकाे छ ।
प्रतिक्रिया दिनुहोस्