१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्थानीयले गरे इलाका प्रशासन कार्यालय बुर्तिबाङमा तालाबन्दी


182
Shares

बागलुङ । इलाका प्रशासन कार्यालय बुर्तिबाङमा आज मंगलबार स्थानीयहरुले तालाबन्दी गरेका छन् ।

इलाका प्रशासन कार्यालय हाल सञ्चालनमा रहेको स्थानबाट अन्यत्र सार्न लागिएको भन्दै स्थानीयले विरोधस्वरुप तालाबन्दी गरेका हुन् ।

बुर्तिबाङ बजार संगमचोकमा रहेको प्रशासन कार्यालय पुरानो गाविस भवननजिकैको घरमा सार्ने तयारी भएपछि राजनैतिक दल र स्थानीयले विरोध गर्दै प्रशासन कार्यालय नसार्न आग्रह गरेका छन् ।

गत माघ ७ गते बसेको सर्वदलीय निर्णयले समेत हाल सञ्चानलमा रहेको कार्यालय भवन नागरिकको सेवाप्रवाहका लागि सहज, अपाङ्गमैत्री तथा बीच बजारमा रहेको र भाडा पनि अहिले सार्ने भनिएको घरको भन्दा निकै कम रहेको भन्दै नसार्न आग्रह गरेका थिए ।

लगत्तै फाल्गुन ११ गते स्थानीयवासी, राजनीतिक दललगायत २०० जना बढिको हस्ताक्षर सहित कार्यालय नसार्न ध्यानाकर्षण सहितको पत्र प्रशासन कार्यालय प्रमुख लोकबहादुर कुवँरलाई कार्यालयमा दिएका थिए । पटक–पटक नागरिक र राजनैतिक दलले ध्यानाकर्षण गराउँदा समेत प्रशासन कार्यालय सार्न खोजिएको भन्दै स्थानीयले मंगलबार बिहान कार्यालयको गेट तथा सटरमा ताल्चा लगाइदिएका छन् ।

प्रशासन कार्यालयले गत कात्तिक २८ गते पहिलो पटक १५ दिने र दोश्रो पटक पुनःमंसिर २१ गते दोश्रो पटक ७ दिने सुचना निकालेर घरभाडा लिने सुचना प्रकाशित गरेको थियो । प्रशासन कार्यालयले हाल बस्दै आएको घरमा कार्यालय सञ्चालनका निम्ति कोठा कम भएको, घर सम्झौता अवधि सकिएको र कार्यालय राख्न उपयुक्त नभएको भन्दै घरभाडामा लिन विज्ञापन गरेको थियो ।

विज्ञापनअनुसार परेको निवेदनमा पुरानो गाविस भवननजिकैको घरमा कार्यालय सार्ने प्रशासन कार्यालय अगाडी बढेको बुझिएको छ ।