
एजेन्सी । संयुक्त राष्ट्रसंघले दोस्रो विश्वयुद्धपछि युरोपमा सबैभन्दा ठूलो शरणार्थी संकट देखा परेको भन्दै चिन्ता व्यक्त गरेको छ ।
युक्रेनबाट ठूलो संख्यामा मानिसहरूले देश छोड्नु दोस्रो विश्वयुद्धपछि युरोपमा देखिएको सबैभन्दा ठूलो शरणार्थी संकट भएको राष्ट्रसंघले औंल्याएको हो ।
रुसले युक्रेनमाथि आक्रमण गरेपछि हालसम्म २० लाख भन्दा बढीले युक्रेन छाडेका छन् । युक्रेनबाट भागेका १२ लाख मानिस पोल्यान्डमा शरण लिन पुगेको जनाइएको छ ।
पोल्यान्डको सीमा सुरक्षा हेर्ने निकायका अनुसार रुस–युक्रेन युद्ध सुरु भएयता पोल्यान्ड गएकामध्ये ९० प्रतिशत मानिस युक्रेनी नागरिक भएको र तीमध्ये अधिकांश महिला र बालबालिका रहेका छन् ।
त्यसमध्ये पनि ४० प्रतिशत शरणार्थी पोल्यान्ड छोडेर अन्य देशतिर गएको एउटा अनुसन्धानले देखाएको बीबीसीले जनाएको छ ।
यसैबीच, पोल्याण्डले युक्रेनी शरणार्थीका लागि ईयूको सहायता रकम ‘अपर्याप्त’ रहेको बताएको छ ।
शरणार्थीहरूलाई सहयोग गर्ने देशहरूका लागि ईयूद्वारा प्रस्तावित ५० करोड यूरो सहयोग रकम अपर्याप्त रहेको पोल्यान्डका उपविदेशमन्त्री पावेल जाब्लोन्स्कीले बताएका हुन् ।
प्रस्तावित रकम सबै सहयोगी देशहरूलाई बाँड्ने भएकाले पर्याप्त नहुने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्