
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको मतपत्रको चिन्हहरूमा हरियो रङ राख्ने निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाउनुभएको छ ।
मंगलबार अखिल नेपाल महिला संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कमजोर आँखा हुनेले रुखै–रुख देखोस् भनेर हरियो रङको चिन्ह राख्न खोजे स्वीकार्य नहुने बताउनुभयो ।
‘मलाई थाहा छैन, मैले एउटा सञ्चारमाध्यममा हेरेको थिएँ । निर्वाचन आयोगले मतपत्रका चिन्हहरुमा हरियो राख्ने भयो रे, हरियो चिन्ह किन राख्ने ? के कारणले राख्ने निर्वाचन आयोगले बताउनुपर्यो,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘म अत्यन्त व्यस्त भइरहेको छु । उहाँहरूसँग सोधौंला, बुझौंला । यदि हो भने, कुन हिसावले राख्ने ? यो धार्मिक हिसावले राख्ने हो ? के हिसावले हरियो चिन्ह राख्ने ?’
अध्यक्ष ओलीले निर्वाचन आयोगले मतपत्रका चिन्हहरूमा हरियो चिन्ह राख्नुको कारण खुलाउपर्ने बताउनुभयो । यदि सञ्चारमाध्यमले गलत लेखेको हो भने त्रुटी सच्याउन उहाँले आग्रह गर्नुभयो ।
‘कसैको हरियो देखिने चिन्ह छ कसैको त्यसकारण राख्ने ? केका लागि राख्ने ? सबैतिर जनताले आँखा नदेख्ने कमजोर आँखा हुनेले रुखैरुख देखोस् भनेर हरियो चिन्ह राख्ने हो ? किन हरियो राख्ने ?,’ उहाँले भन्नुभयो, ‘यदि हरियो राख्ने निर्णय गरेको होइन भने सञ्चारमाध्यमले आफ्नो त्रुटी सच्याउनुपर्यो । यदी निर्वाचन आयोगले नै त्यो गरेको हो भने निर्वाचन आयोगले नै त्यस्तो त्रुटी सच्याउनुपर्छ । हरियो सरियो हुँदैन ।’
अध्यक्ष ओलीले अहिले हरेक राज्यका अंगहरूमा नेकपा एमालेको विरुद्ध प्रयोग भइरहेको बताउनुभयो । उहाँले सभामुखको अहिलेको भूमिकाप्रति असन्तुष्टि जनाउँदै सभामुखले नियम, कानूनको पालना नगरेको आरोप लगाउनुभयो ।
अध्यक्ष ओलीले अब जनादेशको लागि तयारी गर्ने भूमिकामा लाग्न अखिल नेपाल महिला संघसहित सम्पूर्ण महिलाहरुलाई अनुरोध गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्