
बैतडी । बैतडी जिल्लाको दशरथचन्द नगरपालिकामा आज (बुधबार) देखि पाचौं संस्करणको मेयर कप पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु हुँदैछ ।
दशरथचन्द नगरपालिकाको सहयोग र नगरक्रिकेट समितिको आयोजनामा सञ्चालन हुने प्रतियोगिता आगामी चैत २ गते सम्पन्न हुनेछ ।
प्रतियोगिताको देहिमाडौंमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर उद्घाटन गरिने नगरक्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिनुभएकाे हाे । उद्घाटन कार्यक्रममा नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, जिल्ला समन्वय समिति बैतडीका प्रमुख सिद्धराज भट्ट, दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा लगायतको उपस्थिती रहनेछ ।
औपचारिक कार्यक्रम पश्चात निंग्लाशैनी खेलमैदान देहिमाडौंमा हुने उद्घाटन खेलमा दशरथचन्द नगरपालिका-४ खलंगा र नगरपालिकाका-९ ग्वाल्लेकबीच प्रतिस्पर्धा हुनेभएकाे छ ।
प्रतियोगितामा सहभागी हुने ११ टोलीलाई ४ समूहमा विभाजन गरिएको नगरक्रिकेट समितिले जनाएको छ । उपाधि विजेता टोलीले ७५ हजार र उपविजेता टोलीले ५० हजार ट्रफी,मेडल र प्रमाणपत्र पाउने जनाइएको छ । नगरपालिकाको वार्षिक कार्यक्रम अनुसार प्रत्येक वर्ष मेयर कप क्रिकेट प्रतियोगिता सञ्चालन हुँदैआएको छ ।
प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ । यसअघि गत वर्ष सम्पन्न चौथो संस्करणको मेयर कपको उपाधि वडा नं ५ दशरथचन्दलाई ४ रनले स्तब्ध पार्दै वडा नं ४ खलंगाले हात पारेकोथियो ।
यसैबीच पाचौं संस्करणको उपमेयर कप महिला क्रिकेट प्रतियोगिता भने आगामी चैत ४ गतेदेखि सञ्चालन हुने नगरक्रिकेट समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्