१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतले महाकाली नदीमा एकतर्फी रुपमा तटबन्ध बनाउन थालेपछि तनाव सृजना


338
Shares

काठमाडौं । भारतले नेपालको अनुमति विना महाकाली नदीमा एकतर्फी रुपमा तटबन्ध बनाउन थालेपछि तनाव सृजना भएको छ ।

दार्चुलामा नेपाली पक्षलाई जानकारी नै नदिएर भारतीय पक्षले नदीको बहाव परिवर्तन हुनेगरी आफूखुशी पक्की तटबन्ध निर्माणको कार्य गरेपछि दुवै पक्षबीच तनाव भएको हो ।

महाकाली नगरपालिका–४ स्थित लास्कु खोला नजिकै भारतीय पक्षले स्काभेटर लगाएर महाकालीको बहाव नेपाल फर्काउन खोज्दा स्थानीयले प्रतिवाद गरेका हुन् ।

मंगलबार भारतीय स्काभेटर बीच नदी हुँदै बहावलाई नेपालतर्फ पल्टाउन खोज्दा दुवै देशका स्थानीयबीच ढुङ्गा हानाहान भएको हो ।

वारिपारिका स्थानीयबीच भएको तनाव प्रशासनिक पहलपछि मत्थर भएको थियो ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले नेपाली प्रशासनसँग समन्वय नै नगरी भारतले एकतर्फी एस्काभेटर चलाएर महाकाली नदीको बहाव परिवर्तन गर्न खोज्दा समस्या आएको बताउनुभयो ।

गत माघमा दुवै देशका सीमा अधिकारीबीचको ‘भर्चुअल’ बैठकमा उपाध्यायले तटबन्ध निर्माणको विषय पनि उठाउनुभएको थियो । जवाफमा भारतीय पक्षले नेपाली भू–भागतिर केही असर नगर्ने गरी तटबन्ध निर्माण गर्ने र त्यसको विस्तृत जानकारी दिने प्रतिबद्धता जनाए पनि त्यसो हुन सकेको छैन ।