९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


कोरानाबारे संसदमा सार्वजनिक महत्वको प्रस्ताव, ‘कोरानाबाट नतर्सौ, सचेत बनौं’: सांसद गगन थापा


0
Shares

काठमाडौं, फागुन २३ । नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोनाभाइरस संक्रमणबाट नतर्सिकन सचेत रहन सबैमा आग्रह गरेका छन् ।

प्रतिनिधिसभामा शुक्रबार सार्वजनिक महत्वको प्रस्ताव गर्दै सांसद थापाले कोरोनाभाइरस संक्रमणबाट तर्सने होइन, सचेत हुनुपर्नेमा जोड दिएका हुन् ।

प्रमुख प्रतिपक्षी दलका सांसद थापाले सरकारले उपप्रधानमन्त्रीस्तरमा बनाएको समिति र अरु प्रयाससमेतलाई अनुगमन र निगरानी गर्न संसदीय समिति बनाउन माग पनि गरे ।

बैठकमा प्रस्ताव पेश गर्दै थापाले भने, ‘कोरोनाभाइरसबाट सचेत रहने हो तर्सने होइन । हामीलाई तयारीका लागि अहिले गोल्डेन पिरियड छ । हाम्रोजस्तो तयारीका लागि समय अरू देशले पाएन । सुझबुझपूर्ण तयारी गरौं । सरकारले जे जति काम गरेको छ, म प्रशंसा गर्छु, । छरपस्ट होइन एकजुट भएर तयारीमा जुटौं ।’

कोरोनाभाइरस संक्रमणबाट जोगिन कार्ययोजना बनाउन प्रस्ताव गर्दै थापाले यसको जिम्मेवारी संघको मात्र नभएको, त्यसका लागि प्रदेश र स्थानीय सरकारसमेतले मिलेर एकीकृत प्रयास गर्नुपर्ने बताए ।

टेकुस्थित शुक्रराज ट्रफिकल अस्पतालबाट बिरामी भाग्नुपर्ने आवस्था आउनु दुःखद भन्दै थापाले आइसोलेसन बेड राम्रो बनाउन सुझाए । खाली होटल, विद्यालयलगायतलाई आइसोलेसन बनाउन सकिने भन्दै उनले त्यसको तयारीमा लाग्न सरकारलाई सुझाव दिए ।

औषधि लुकाउनेलाईं जेल हालौंः राजभण्डारी

संसदमा थापाले राखेको सार्वजनिक महत्वको प्रस्तावको समर्थन गर्दै कांग्रेस सांसद दिब्यमणि राजभण्डारीले औषधि र मास्क लुकाउनेलाई कडा दण्ड दिँदै जेल हाल्न माग गरे ।

सांसदहरु राजेन्द्र केसी, नारायण खड्का, खगराज अधिकारी, पार्वता डिसी चौधरी, भरत शाहलगायतले प्रस्तावको समर्थन गरे ।