
काठमाडौं । सरकारले चैत्र मसान्तभित्र सबै नेपालीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने दाबी गरे पनि अझै १ करोड ९ लाख ९१ हजार ५ सय ५० व्यक्ति खोपको दायरमा आएका छैनन् ।
हाल नेपालमा कुल जनसंख्याको ६२.३ प्रतिशत व्यक्तिले मात्र कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खोप लगाउन सुरु भएको १३ महिनाको अवधिमा १ करोड ८२ लाख ९ सय ३० जनाले पूर्ण खोप लगाएका हुन । ७४.४ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।
१८ वर्ष माथिका ८० प्रतिशत व्यक्तिले पूर्ण खोप लगाएका छन् भने करिब ९२ प्रतिशले भने एक डोज खोप लगाएका छन् ।
१२ देखि १७ वर्ष उमेर समूहका ३४ लाख ५ हजार ५ सय ५५ जना किशोर किशोरीमध्ये ५९ प्रतिशतले पूर्ण खोप लगाएका छन् भने ९० प्रतिशतले पहिलो मात्रा खोप पूरा गरेका छन् ।
१५ लाख १५ हजार ५ सय ७ जनाले भाइरसविरुद्धको बुस्टर डोज खोप लगाएको मन्त्रालयले जनाएको छ । नेपालले हालसम्म खरिद र अनुदान गरी ४ करोड ७८ लाख ८२ हजार ८ सय खोप प्राप्त गरेको छ ।
जसमध्ये ३ करोड ८२ लाख ९२ हजार ५ सय १९ मात्रा खोप लगाइएको छ । हाल ९५ लाख ९ हजार २ सय ८१ डोज खोप मौज्दात रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्