
काठमाडौं । खुला आकाश छानो र सडकलाई आफ्नो घर बनाउँदै आएका सडक बालबालिकाको स्वास्थ्य, रुचि, उनीहरूको भावी यात्राबारे नेपाली समाज बेखबर छ ।
उनीहरू रहरले बेवारिसे जीवन बाँच्न बाध्य बनेका हुन् या बनाइएका हुन भन्नेमा बहस कम हुने गरेको छ । तर, काठमाडौंमा सडक बालबालिकाको स्वास्थ्य जाँच गर्न राखिएको कार्यक्रममा आफ्नो निःशुल्क स्वास्थ्य जाँच गर्न पाउँदा उनीहरू दङ्ग देखिन्थे ।
चिकित्सककाअनुसार अधिकांश बालबालिका कुनै न कुनै प्रकारको मानसिक र शरीर सुन्निने रोगबाट ग्रसित छन् । जीवनमै पहिलो पटक स्वास्थ जाँच गर्न पाउँदा अधिकांश सडक बालबालिका उत्साहित देखिन्छन् ।
विगत ५ वर्षदेखि सडक बालबालिकाको उद्धार गर्दै आएको राष्ट्रिय बालअधिकार परिषद र बालबालिका खोज तलास समन्वय केन्द्रको समन्वयमा स्वास्थ्य जाँच गरिएको हो ।
काठमाडौं मेडिकल कलेजका स्वास्थ्यकर्मीहरूले विभिन्न रोगको छुट्टाछुट्टै डेस्क बनाइ करिब ३ सय सडक बालबालिकाको स्वास्थ्य जाँच गरिएको थियो । वषौंदेखि सडकमै रात गुजार्न बाध्य अधिकांश सडक बालबालिकामा शरीर सुन्निने र मानसिक रोग देखिएको छ ।
सामान्य उपचारपछि गम्भीर प्रकृतिको रोग देखा परेका बालबालिकाको हकमा भने छुट्टै उपचारको व्यवस्था मिलाइने राष्ट्रिय बालअधिकार परिषद्का कार्यक्रम अधिकृत सन्तोष अधिकारीले जानकारी दिनुभयो ।
स्वास्थ्य जाँचका लागि ल्याइएका केही बालबालिकालाई स्वास्थ्य जाँचको बारे जानकारी भए पनि कतिपयलाई भने आफू किन लाइनमा बसेको भन्ने हेक्का समेत थिएन । सानो उमेरमा कुलतमा लागेका बालबालिकाको अभिभावक नरहेको र केहीको भने अभिभावक भए पनि भेटघाट नभएको स्थितिले चिन्ता थपेको छ ।
सडकमा जीवनयापन गर्ने बालबालिकाले आफ्नो स्वास्थ्यबारे स्वास्थ्यकर्मीहरूलाई निर्धक्क भएर जानकारी दिनु आफैंमा उपलब्धी त हुँदै हो, त्यसमाथि अभिभावकविहीन यो वर्गको बाँच्न पाउने अधिकारको सम्मान गरिनु वाञ्छनीय छ ।
प्रतिक्रिया दिनुहोस्