
काठमाडौं । गृह मन्त्रालयले लामो समयदेखि विवादित बनेको नागरिकता विधेयकलाई टुंग्याउन प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्ने भएको छ ।
बुधबार गृहमन्त्रालयमा भएको नागरिकता विधेयकमाथिको छलफलमा गृहमन्त्री खाँडले नागरिकता विधेयकलाई अघि बढाउने र टुंग्याउन सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरुको सहयोग लिने बताउनुभयो । नागरिकताको विषय संवेदनशील र दूरगामी असर गर्ने भएकोले राजनीतिक रुपमा आमसहमति बन्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
त्यस्तै, कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले जन्मसिद्ध नागरिक र अंगीकृत नागरिकलाई सबैभन्दा बढी समस्या भइरहेको बताउनुभयो । उहाँले नागरिकता नपाउँदा राज्यका सेवा, सुविधाबाट वञ्चित भइरहेको भन्दै यो विषयलाई प्राथमिकतामा राखेर तत्काल समस्या समाधान गर्नुपर्ने बताउनुभयो । मन्त्री बडूले नागरिकताको विषय धेरै पेचिलो बन्दै गएको र यो विषय दलीय सहमतिमा लगेर तत्काल टुंग्याउन आवश्यक रहेको बताउनुभयो ।
नागरिकता विधेयक प्रतिनिधि सभाको राज्यब्यबस्था तथा सुशासन समितिमा २०७५सालको साउनमा दर्ता भएर छलफलमा नै रहेको छ ।
प्रतिक्रिया दिनुहोस्