
एजेन्सी । रुस र युक्रेनले बुधबार एक दिनको युद्धविराममा सहमति जनाएका छन् ।
यस एक दिने युद्धविरामले सर्वसाधारणलाई युद्ध प्रभावित भागबाट भाग्न एक दिनको समय प्राप्त भएको छ ।
मस्कोले बुधबार बिहान ९ देखि बिहीबार बिहान ९ बजेसम्म युद्धविरामको सम्मान गर्ने वाचा गरेको छ । जसमा किभ वरपरका क्षेत्रहरू, दक्षिणमा जापोरिज्जिया र त्यसका केही भागहरु रहेका छन् ।
उत्तरपश्चिममा इरपिन र बुचालगायत राजधानी वरपरका क्षेत्रहरूमा रहेका नागरिकहरूलाई रुसी सेनाको भीषण बमबारीबाट बच्न किभमा सारिने बताइएको छ । आइतबार पैदलयात्राबाट किभ पुग्न खोजिरहेका चारजना विस्फोटमा परेको समाचारमा जनाइएको छ ।
मंगलबार करिब ६० बसले किभबाट ३ सय ५० किलोमिटर पूर्वमा रहेको सुमीबाट नागरिकलाई बाहिर निकाल्न सफल भएको युक्रेनका राष्ट्रपति कार्यालयले सञ्चारमाध्यमलाई बताएको छ । रुसी सिमानानजिक रहेको दुई लाख ५० हजार जनसंख्या भएको सहर सुमीबाट ५ हजारभन्दा बढी मानिसलाई विस्थापित गरिएको थियो ।
यस शहरलाई रुसले ठूला आक्रमण गरेको गरेको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सी युएनएचसिआरले युक्रेन शरणार्थीहरूको संख्या २१ देखि २२ लाखसम्म पुगेको अनुमान गरेको छ । यूएनएचसीआरका प्रमुखले अबको प्राथमिकता सीमामा रहेका शरणार्थीलाई सहायता गर्नेमा हुनुपर्ने बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
स्टकहोममा आयोजित पत्रकार सम्मेलनमा यूएनएचसीआरका उच्चायुक्त फिलिपो ग्रान्डीले देशहरूबीच शरणार्थीको बाँडफाँटबारे छलफल गर्नुभन्दा अहिले सीमामा गएर सहायता गर्ने बेला भएको बताए । मल्डोभालाई लक्षित गर्दै त्यहाँ शरणार्थी आउने क्रमले अवस्था दयनीय बनेको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्