
चितवन । चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने महत्वपूर्ण नदी राप्ती हुँदै वन्यजन्तु मध्यवर्ती र निकुञ्ज वारपार गर्दछन् । तर, पछिल्लो समय यो नदीमा फोहोर बढ्दै जाँदा वन्यजन्तु घाइते हुने र चरन क्षेत्रमा समेत फोहोर थुप्रिन थालेपछि संरक्षणमै चुनौति थपिएको छ ।
राप्तीमा आहाल खेल्ने, पानी पिउने र नजिकै रहेको चरन क्षेत्रमा चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तु रमाउने गर्दछन् भने घडीयाल आनन्दले घाम ताप्ने र बास वस्ने ठाउँ पनि यही राप्ती हो । तर, यो नदी अहिले चरम प्रदूषणको मारमा परेको छ । हेटौंडादेखि बग्दै आउने यो नदीको किनारमा पानीका बोत्तल, वियरका सीसा, कपडा लगायतका फोहोरहरु टन्नै छन् । जसका कारण वन्यजन्तुहरु घाइते हुने, चरन गर्दा ती फोहोर खाने र बिरामी पर्ने गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा बाबुराम लामिछानेले बताउनुभयो ।
प्रकृति सबैको साझा घर हो तर मानवीय गतिविधिले चरम सीमा नाघेको देखेपछि युवा संरक्षणकर्मी अपिल घिमिरेले राप्ती नदी तटीय क्षेत्र अभियान संचालन गरेर प्रत्येक हप्ताको शनिबार फोहोर उठाउँछन् । यस कार्यका लागि घिमिरेलाई स्थानीयले पनि त्यतिकै साथ दिएका छन् ।
नदी नजिकैका व्यावसायिक होटल र राप्ती नदी बगेर आउने हेटौंडाबाट नै फोहोरहरु बग्दै बग्दै आउने गरेका छन् । बढी मात्रामा पानीका बोेतल, वियरका सिसा लगायत सबै मानिसले प्रयोग गरेर फालेकै फोहोर आउने गरेका हुन् । त्यसैले मानवीय गतिविधि नै सच्याएर संरक्षणको कर्म र मर्म सिकाउनु पर्नेमा पटिहानी उपभोक्ता समितिका अध्यक्ष शंकर महतोको जोड छ ।
स्थानीय सरकार छन् । तर जहाँ खोला र नदी छ त्यसैको किनारमा फोहोर फाल्ने ठाउँ देखेका छन् । व्यवस्थित डम्पिङ साइड नहुँदासम्म र फोहोरले वन्यजन्तु संरक्षणमा परेको असरबारे जनचेतना व्यापक नबनाउँदासम्म एक समुह फोहोर फालिरहने अर्को समूह सफा गरिरहने नियति जारी रहनेछ । त्यसैले निकुञ्ज भएर बग्ने खोला नदीमा फोहोर फाल्नेलाई कडा कारबाही गर्न निश्चित कानून बनाउन र लागू गर्न ढिला गर्न हुँदैन् ।
प्रतिक्रिया दिनुहोस्