२१ चैत्र २०८१, बिहिबार | Thu Apr 3 2025


आफ्ना बोक्ने, पराई ठोक्ने


715
Shares

रुसमा एक जार शासक थिए । उनको नाम थियो– काउन्ट विटी । एकदिन उनले सहयोगीलाई बोलाएर आफू विरुद्ध लेख्ने पत्रकारहरुको सूची तयार गर्न अह्राए । आलोचक पत्रकारहरुको सूची तयार भयो । फेरि जारले हुकूम दिए– ‘छानिएका मध्ये कट्टर आलोचकहरुको अर्को सूची तयार गर ।’ सहयोगीहरुले त्यसै गरे । ‘के यिनीहरुलाई आजीवन कारावासको सजाय सुनाउने हो ?’ सहयोगीहरुको प्रश्नमा अनपेक्षित उत्तर दिँदै जारले भने– ‘होइन । यी मध्ये तीनजनालाई छानेर मेरो सल्लाहकार परिषद्को सदस्यमा मनोनित गर्ने । जो कट्टर आलोचक छन, ती मेरा सही सल्लाहकार हुन् ।’

सोभियत रुसले निकालेको चिल्ला मोटा किताव पढेर कम्युनिष्ट भएका यहाँका क्रान्तिकारीहरुले त्यहाँको यस्तो राम्रो विषय सिक्न जरुरी ठानेनन् । बरु नन्दी, भृङगी, हुक्के, ढोके, चम्चे उत्पादनमा उनीहरुको सामथ्र्य उपयोग भयो । अहिले सिंहदरबारदेखि वडा सदस्यसम्म प्रेस सल्लाहकारको झाँकी देखिन्छ । अर्कातिर दलबाट अझ झरेर नेतापिच्छेका अनलाइनको बाढी छ । एउटै पार्टीका नेता खुइल्याउन त्यही पार्टीका अर्का नेताले आर्थिक, भौतिक मात्र हैन, नैतिक लगानी गरेका छन् । शायद नेपाल मात्र विश्वको एउटा त्यो भूधरा हो, जहाँ पानपसल खोल्ने योग्यता नराखेका मानिस सञ्चार संस्थाको सञ्चालक, सम्पादक र रिपोर्टर एकसाथ बन्ने हैसियत राख्छ ।

अब त कुनै सञ्चारगृहमा रिपोर्टरको नियुक्तिसमेत नेताको सिफारिसमा भयो भने आश्चर्य नमाने हुन्छ । एउटा सञ्चारमाध्यमको रिपोर्टरभन्दा पुलिसको सिपाहीको व्यावसायिक मर्यादा उच्च छ । उसले पाउने वेतन र सुविधाको तालमेल नै आकास जमिनको फरक छ । सिपाहीको औंलामा चोट लाग्यो भने राज्यले उपचारको दायित्व लिन्छ, एउटा पत्रकारको मृगौलाले काम गरेन जागिरबाट निकालिन्छ । संघसंगठन त छन, तिनीहरुमा राजनीतिक सिण्डिकेट छ । पत्रकारको काम बोल्दैन, दलीय संलग्नताको आधारमा उसको परिचय स्थापित हुन्छ । कुनै समय सञ्चारमाध्यमको एउटा उम्दा रिपोर्टर जन्मदेव जैसी आज श्रमजीवी पत्रकार संगठन खोल्न किन बाध्य भए ? विभिन्न नाममा पत्रकारका सटर हुँदाहुँदै जैसी ट्रेड युनियनको अर्को सटर खोल्न किन बाध्य भए ? सबैको साझा भनिएको महासंघको चुनावमा दलीय उचाई नपुग्दा उनी महासंघमा अयोग्य सिपाही ठहरिए । सटर खोलेर मात्र हुन्न, त्यसका लागि प्रज्ञा र चेतनाको यात्रा हुनुपर्छ ।

बौद्धिक पेशा भएकाले उत्तेजना, भावना कम संयमको दरकार बढी पर्छ । बीउ गलत रोपिएपछि फसल त्यही अनुसारको लाग्ने हो । त्यसैले जरामा रहेको समस्या पातमा खोज्ने वर्तमान चिर्ने सामथ्र्य राख्नुपर्छ । मर्यादा पुरुष श्रीरामको वीरगाथा सम्झिएर लाखौं अभिभावकले सन्तानको नाम राम राखेका छन् । तर परिणाम– ताक्छु मुढो, बञ्चरो ताक्छ घुँडो भएको छ । सीताहरु पनि सीताको उचाईमा पुग्न सकेनन् ।

प्रश्न त यो हो कि एक्काइसौं शताब्दीको यो सभ्य युगमा रगत र पसिनाको मूल्य खोज्न आन्दोलन गर्नुपर्ने अवस्थाको वीजारोपण कहाँबाट भयो ? न्यूजरुममा अर्जुनदृष्टि लाउनुपर्ने पत्रकार सधैं चुल्होको समस्याबाट लखेटियो भने उसले गर्ने उत्पादनको गुणस्तर के हुन्छ ? जन्मदेव हार्डवेयरमा के हुन, त्यो त मतलवको भएन । तर सफ्टवेयरमा उनले निभाएको भूमिका अहिलेका दिनमा बन्दनीय छ । विरालाको काम मुसाको शिकारमा हेर्नुपर्छ न कि रंगमा । त्यैसैले त नेपाल रामराज्य बनोस । काम सबैले पाउन । अझ काम अनुसारको मूल्य चुकाउन आन्दोलन गर्न नपरोस् । अझ जन्मदेवहरुले खोलेका सटर कामविहीन बनून् । सुशासन आउनासाथ यस्ता संस्थाको उपयोगिता घटने निश्चित छ । त्यो बेला आशाको पराग सञ्चार हुन सक्छ । जब यति सानो मुलुकमा अस्पताल, शैक्षिक प्रतिष्ठान, मजदुर युनियन, शेयर बजार, वित्तीय संस्थाको बाक्लो उपस्थिति भनेको ओरालो यात्राको सुगम परिवेश हो भन्नेमा दुइमत छैन । यी भनेका प्रणालीले काम नगर्दा उत्पन्न पराकम्पन हुन ।

नेपाली समाजमा राजनीति मात्र फस्टाएको उद्योग हो । हरेक उद्योग व्यवसाय चाउरिँदा राजनीतिक उद्योग रात दुई, दिन चारगुना फैलिएको छ । कुखुराको चल्ला चोरी, हाडनाता करणीको आरोपमा जेल परेकाहरुले कैदी जीवनलाई चलाखीपूर्वक प्रजातान्त्रिक संघर्षको बलिदानमा अनुवाद गर्दा राजनीति मेनपावर व्यवसायभन्दा माथि उठ्न सकेन । राजनीति ती प्राणीका कारण बिटुलियो, जसले गाईको सिङले हानेको शरीरको खत निरंकुश शासकले दिएको यातनासंग जोडेर आफूलाई हिरो प्रमाणित गर्ने दुस्साहस गरे । थुनिनु, कुटिनु, पिटिनु आधारभूत योग्यता बन्यो । राजनीतिक परिवर्तनलाई अनादर गरेको नठानियोस,तर राजनीतिक क्रान्तिमा सहादत प्राप्त गर्नेहरुको पृष्ठभूमि हेर्दा पनि थाहा हुन्छ– हाम्रो परिवर्तनको जमिन कति मजबुत छ ?

राजनीतिको ‘र’ नबुझेका गोलीको शिकार बनेका छन् । तिनैको सपना साकार पार्नमा केन्द्रित राजनीतिले त्यो सपना चिनियाँ लिपिजस्तै नबुझिने बन्यो । त्यसैले प्रत्येक जनक्रान्ति मानव भीडमा सीमित भयो । सहिदहरु प्रत्येक वर्ष पात्रोमा फेरिने तस्वीरका पाहुनाजस्ता भए । राजनीतिमा अनास्था पैदा गर्नमा सञ्चारमाध्यमले केही हदसम्म भूमिका निर्वाह गरेकै हुन् । पहिले नेता पुल्पुल्याउने पछि डस्ने रोगबाट सञ्चारजगत ग्रसित छ ।

नेताहरुलाई बस्त्रहीन बनाएर त्यसको मनोरञ्जन लुट्ने काइदामा लागेको नेपाली सञ्चार क्षेत्र एकपछि अर्काे कठिन यात्रामा छ । नेताहरु पछ्याउनुलाई समाचारको कारखाना ठान्ने मूलधारको पत्रकारितालाई सामाजिक सञ्जालले पानी पिउन नपाउने गरी पछारेको छ । ब्रेकिङ, स्कूप एकादेशको कथा बनेको छ । युटुबरहरुले एक महिनाअघि उठाएका समाचार एक महिनापछि दैनिक अखबारका खुराक हुने गरेका छन । पत्रकारको परिचय झोलेअनलाईन समाचार फेसबुकको पेजमा बिकाउको साइत हेरेर बसेका छन् । समाचारका स्रोतहरु आफ्नै एकाउन्टबाट समाचार सार्वजनिक गर्न हतारिएका छन् । मूलधारमा काम गर्ने पत्रकार समयमै तलब नपाएर रुवाबासी गरेका भेटिन्छन् । युटुबरहरु लाखौं रुपैयाँको गड्डी बोकेर मानवताको मल्हम लगाउने प्रतिस्पर्धामा छन् । को कतिबेला कसरी उम्दा प्रतिभा भएर जन्मन्छ भन्ने कसैले पूर्वानुमान गर्ने अवस्था छैन ।

जन्मदै तीनपाते प्रतिभा भएर उम्रिने गरेका छन् । खरायो र सिंहको कथा कण्ठ गरेर सधैं एउटै लिकमा समय चल्छ भन्ने स्थायी अन्तरामा बाँचेको मिडियाका उद्योगीले आत्मनिरीक्षण गर्नुपर्ने दिन आएको छ । आकासको मौसमी बद्ली र नेपाली राजनीतिको समीकरण, ध्रुबीकरणलाई एउटै चश्माबाट हेर्ने संस्कृतिमा बद्लाव आउन जरुरी छ । थुप्रै अंग नभएका उद्योग चलाएर एउटा चौथो अंगको चिर्कटो सम्हालेको अहंमा यहाँ फेरि अर्काे काउन्ट बिटी जन्मिएला र त्यसको सल्लाहकार हुने सपना कुनै उद्योगीले नदेखे हुन्छ ।

बजारको आवश्यकता भन्दा लाज बचाउने धोतीमा उपयोग भएका मिडियाले ‘ओठमा लाली,पेट खाली’का जनशक्ति उत्पादन गरे । पिपिली लाईभको व्यंग्यले भारतीय सञ्चारक्षेत्रलाई झक्झक्यायो । तर नेपालमा फोटोकपी संस्कृति हावी भयो । ६ महिनाको ज्याला साहुकोमा धरौटी राखेर ज्ञान, बुद्धि र विवेकको सिंगो महामानवमा आफूलाई प्रस्तुत गर्दा तिनीहरुको हैसियत टकिङ टमभन्दा माथि उठेन । बरु टीभीमा नदेखिँदा, पत्रिकामा बाइलाईन नलेख्दा र एफएममा नचिच्याउँदा सृष्टि टक्क रोकिन्छ भन्ने भ्रमले बास ग¥यो । जसरी अन्य पेसामा लागेर कुस्त पैसा कमाएपछि केही व्यक्ति मान, प्रतिष्ठाका लागि सञ्चारमा लगानी गर्न ओइरिए, त्यसैगरी सञ्चारक्षेत्रमा अल्मलिएको नयाँपुस्ताले सोच्नुपर्ने बेला आएको छ । प्रवेशमा सजिलो र इज्जत आर्जनको लोभमा यता लहसिएको त्यो पुस्ता सीपमूलक काम सिकेर त्यो सीप नेपालमै बेच्न सक्ने स्थितिमा रहन सक्छ । यदि कामलाई ठूलो सानोमा वर्गीकरण नगर्ने हो भने कपाल काट्ने नाईंहरु चाडपर्वमा घर फर्कंदा काठमाडौंबासी जोगी हुनुपरेको छ । प्राविधिक जनशक्तिको नेपालमा कति महत्व छ भन्ने उदाहरण हो ।

खेप गएपनि जिन्दगी जाँदैन । त्यसैले सम्भावना बोकेका सञ्चारकर्मीहरु आफूले आफैंलाई पुनरावलोकन गरी पेसागत पुनर्निर्माणको कसीमा जोखिन जरुरी छ । अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाका भाइ चीनमा मजदूरी गर्छन । खोइ, ओबामाको इज्जतमा धब्बा लागेको छैन त । भारतीय प्रधानमन्त्रीका भाइ आफ्नै गाउँमा किसानी गर्छन । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथकी दिदी भैंसीको गोबर सोरेर बसेकी छन् । खै, उनीहरुको मर्यादामा निचो आएको छैन । दलको साइनोसंग जोडेको कलमले एकदिन धोका दिन्छ । चोरेर जीविका चलाउनेले पनि चोरीलाई घृणा गर्छ । प्रकृतिको एउटा नियम के छ भने सम्भावनाको बाटो कहिल्यै समाप्त हुँदैन ।

एउटा काल थियो– काँच या सिनेमाका पर्दामा देखिने जति सबै हिरो दरिन्थे । अब पर्दामा देखिनेले न्याय गर्नुपर्छ भन्ने संसारको सर्वमान्य सत्यले जितेपछि मानिसहरु सचेत भए । कुनै दिन यही भूगोल हो– धर्मराज थापाले चौतारीमा गीत उराल्दा भात छड्काउँदै गरेका भान्से, गाई चराउँदै गरेका गोठाला र घाँस काट्दै गरेका खेताला दौडन्थे ।

मुक्तिको आवाज घन्काउने राल्फा नाममा दुई चार ठिटा गिटार बोकेर गाउँघर डुल्दा उनीहरुले प्रशस्तै श्रोता पाएकै हुन् । मनोरञ्जनका साधनको सीमितताका कारण त्यो अवसर जुरेको हो । अब सूचना कोच्याउने जमाना गए । मानिसको हातमा लाखौं रोजाइ छन, जो संसारको जुनसुकै कुनाबाट छिनका छिन रोजी –रोजी हेर्ने, सुन्ने क्षमता प्राप्त छ । सुनेको, जानेको, देखेको राम्रो लाग्ने जमानालाई नयाँ आएको आविष्कारले विरानो बनाउँदै लगेको छ ।

गल्ती भन्ने जान्दाजान्दै नेपाली मिडिया भारतीय सञ्चारको बाटोमा लाग्यो । विहान उठेदेखि बेलुका सुतेसम्म आँसुको विकल्पमा आँसु प्रस्तुत गरेर अझै थाकेको छैन । नेपालको भूकम्पपछि अमेरिका र जापानमा गएको भूकम्प अनि आँधीले त्यहाँ पनि धनजनको क्षति गर्यो । तर त्यहाँका मिडिया अहँ आँसुमा खेलेनन् । यसको मतलव यो हैन कि त्यहाँका मान्छेभित्र आँसु हुँदैन । बाँच्नेहरु मरेर बाँच्नु हुँदैन भन्ने सत्यबाट उनीहरु निर्देशित छन् । प्रकृतिले प्रत्येक मान्छेका लागि आफ्नै खालको प्रारब्ध तोकेको छ ।

यदि सतिलाई धार्मिक मान्यतासंग नजोडेर नघचेटिएको भए पतिसंगै आगोमा जल्नेहरु नगन्य हुने थिए । आवेग अन्तिम सत्य भइदिएको भए एउटाको अन्त्यसंगै जोडिएर आत्मदाह गर्नेहरुको भीडले मानव सभ्यता उहिल्यै नामेट हुने थियो । अहिले भोगेको विपत्तिप्रति घोत्लिेने हैन कि भावी पुस्तालाई यस्तो दुर्दिन देख्न नपर्ने अवस्थाको संकल्प अहिलेको आवश्यकता हो ।

२०१५ सालमा आफू प्रधानमन्त्री भएपछि बीपी कोइरालाले कम्युनिष्ट पृष्ठभूमिका पत्रकार मदनमणि दीक्षितलाई सरकारको आलोचना गर्ने सर्तमा महिनाको ६ सय दिएर ‘समीक्षा’को प्रकाशन आरम्भ गराएका थिए । त्यतिमात्र होइन, सहज ढंगले दर्ता नगरिने त्यस परिस्थितिमा पत्रिका दर्ताको सम्पूर्ण प्रक्रिया पनि आपैंmले मिलाइदिएका थिए ।

पाका पत्रकार दीक्षितले आफ्नो आत्मवृत्तान्तमा पत्रिका प्रकाशनको औचित्य पुष्टि गर्दै भनेका छन्– ‘मुलुकको प्रधानमन्त्री, संसदीय प्रजातन्त्रको स्तम्भ र जहाँनिया शासनको अवशिष्ट रुढिवादी शक्तिका विरुद्ध कोइरालाका विचार अनि व्यवहारलाई समर्थन गरिनेछ ।’अंकगणितमा १ र १ जोड्दा २ हुन्छ । तर राजनीतिमा १ र १ को योगफल प्रायः ११ हुन्छ । अघिल्लो पुस्ताका राजनीतिज्ञहरु यो सत्यसंग भलिभाँती जानकार थिए ।

शासन सत्ता हातमा लिएका महेन्द्रले पनि उत्तर दक्षिणका दुई छिमेकीसंग हेपिनु नपर्ने अवस्था ल्याउन केही रणनीतिक चालबाजी रचेकै हुन् । त्यसको शुरुवात उनले पहाडेलाई तराईमा बसाइँ झारेर गरे । पहाडेलाई तराई झर्नमा बन्देज लगाउनु पर्छ सम्मका आवाज उठिरहेको वर्तमान पृष्ठभूमिमा राजा महेन्द्रले त्यो सन्तुलित बसोबास प्रारम्भ नगरेको भए अहिले मुलुकले कस्तो अवस्था झेल्नुपथ्र्यो होला ।

सहज अनुमान गर्न सकिन्छ । यतिमात्र हैन, दरबारकै संरक्षण र लगानीमा केही रेडिकल कम्युनिष्टहरुलाई अप्रत्यक्ष उचालेर उनले भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुलाई ठीक लगाउने सूत्रको प्रतिपादन गरे । तर आफ्नै ढोके, हुक्के, चम्चे, बैठके र छातेहरुको असहयोगको शिकार बनेका तिनै राजाको अवसान रहस्यमय ढंगले भयो । पञ्चेका नाममा हुनु नहुनु, गर्नु नगर्नुका काम तमाम भए । बद्नामी राजाले खेप्नु पर्यो । राजा वीरेन्द्रले बाबुले कोरेकै बाटो त पछ्याए । अवधारणालाई नविकरण गर्न सकेनन् । अचाडूहरुले मधेश र पहाडको त्यो घाउ बल्झाइरहेका छन् ।

सुडानका जनता आफ्नै देशमा भारीका भारी सुन त बोक्छन्, तर त्यो सुन कसको हो र, कहाँ जान्छ थाहा पत्तो हुँदैन । कामना गरौं, यो घडीमा धमिलो पानीमा माछा मार्नेहरुले कतै त्यही गर्तमा नधकेलून ।