
काठमाडौं । विश्वमा सन् २०४० सम्म मिर्गौला रोग मृत्युको ५औं कारण हुने आंकलन गरिएको छ ।
नेपालमा समेत मिर्गौला रोगीको संख्या वर्षेनी बढ्दो क्रममा छ । मधुमेह र उच्च रक्तचापका कारण बढिरहेको मिर्गौला रोगको समस्या ४० वर्ष नाघेका व्यक्तिमा बढी देखिएको छ । नेपालमा वर्षेनी ३ हजार नयाँ मिर्गौला रोगी भेटिने गरेको तथ्याङ्क छ ।
स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार देशभर ५ हजार ८ सयले मिर्गौला रोगीले होमोडायलासिस गराउँछन् । यो संख्याका लागि देशभर ४ सय ९४ वटामात्र डायलासिस मेसिन रहेको छ । ती मध्ये १ सय ८७ मात्र मेसिन सरकारी अस्पतालमा छन् भने बाँकी ३ सय ७ वटा मेसिनका हकदार निजी अस्पताल हुन् ।
सरकारले मिर्गौला रोगीको हेमोडायलासिस निःशुल्क गरे पनि मेसिनको पहुँच सबैतिर नहुँदा विरामीले भने सास्ती व्यहोर्नुपरेको छ । हाल बागमती प्रदेशमा सर्वाधिक धेरै, कर्णाली र सुदूरपश्चिम प्रदेशमा कम मेसिन छ ।
मेसिन अभावका कारण धेरै विरामी २५ सय देखि ५ हजारसम्म शुल्क तिरेर निजी अस्पतालमा डायलासिस गराउन बाध्य भएको राष्ट्रिय मानवअङ्ग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक पुकारचन्द्र श्रेष्ठ बताउनुहुन्छ ।
मिर्गौला फेल भएका व्यक्तिमा प्रत्यारोपण गराउन सकियो भने लामो समय सहज जीवनयापन गर्न सक्छन् । तर, हाल २ सय ५० जना व्यक्तिको मात्र प्रत्यारोपण हुने गरेको छ । प्रत्यारोपण गर्ने २० देखि ४० वर्ष उमेर समूहका व्यक्ति बढी छन् ।
मिर्गौला रोगी थपिने संख्याको तुलनामा डायलासिस गराउने र प्रत्योरोपण गराउनेबीच ठूलो खाडल रहेको छ । तर, मस्तिष्क मृत्यु भएका व्यक्तिहरूको अङ्ग समयमा नै दान गराउन सकियो भने धेरै मिर्गौला रोगीहरूलाई बचाउन सकिने भएकाले अङ्गदान गर्न चिकित्सकहरू सुझाव छ ।
बढ्दो नसर्ने रोगको समस्या नियन्त्रण गर्न जनचेतना मुलक कार्यक्रम बढाउन आवश्यक छ । साथै सन्तुलित र स्वस्थ खानपान, तौल नियन्त्रण, पानी प्रशस्त सेवन, गुलियो, मैदाबाट बनेका खाद्यान्न नखाने हो भने मिर्गौलारोगबाट बच्न सकिने चिकित्सकहरूको सुझाव छ ।
प्रतिक्रिया दिनुहोस्