१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ठेकेदार र बैंक कर्मचारीविरुद्ध मुद्दा दायर


260
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेक्कामा पेश्की लिन मिलेमतो गरेको अभियोगमा बिहीबार विशेष अदालतमा ठेकेदार र बैंक कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ ।

सडक कार्यालय दाङ अन्तर्गतको ठेक्कामा पेश्की लिन मिलेमतो गरेको, सम्बन्धित निर्माण व्यवसायी विटी/टौदह/फस्कु जेभी काठमाडौंले पेश गरेको बैंक जमानत नक्कली भएको आयोगले ठरर गरेको छ ।

मध्यपश्चिम सडक डिभिजन कार्यालय घोराही र बोलपत्रदाता विटी/टौदह/फस्कु जेभीबीच भएको सम्झौता अनुसारको सोनापुर सिमेन्ट कारखाना सडक निर्माणमा राष्ट्रिय वाणिज्य बैंक, जुम्लाका तत्कालीन शाखा प्रबन्धक रामजनक चौधरीले उपलब्ध गराएको कागजात नक्कली रहेको पाइएको छ ।

नक्कली कागजात बनाउने प्रबन्धक चौधरीविरुद्ध आयोगले भ्रष्टाचार कसुर अनुसार मागदाबी गरिएको जनाएको छ । सो निर्माण व्यवसायीका तर्फबाट तत्कालीन विटीका निर्देशक माधवप्रसाद भण्डारी, फस्कु निर्माण सेवाका सञ्चालक अर्जुनबहादुर बुढाथोकी र टौदहका प्रतिनिधि पुन्नबहादुर शाहीविरुद्ध पनि आयोगले मुद्दा दायर गरेको जनाएको छ ।