
काठमाडौं । फ्रेन्ड्स क्लब पाँचौ खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
धनगढी रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा बागमती युथ क्लबलाई २–१ गोल अन्तरले हराउँदै ए डिभिजन क्लब फ्रेन्ड्स उपाधि नजिक पुगेको हो ।
फ्रेन्ड्सलाई जित दिलाउन जमोउल एन्थोनी फ्रान्कोईस र राजिब लोप्चनले एक एक गोल गरे । बागमतीका ड्याडी वाम्बा जुनियरले एक गोल फर्काए ।
अब फ्रेन्ड्सले उपाधिका लागि मनाङ मर्स्याङदी क्लबको सामना गर्नेछ । पहिलो सेमिफाइनलमा हिमालयन शेर्पालाई पेनाल्टीमा ४–२ गोल अन्तरले हराउँदै मनाङ फाइनल प्रवेश गरेको थियो । आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्ने छ ।
प्रतिक्रिया दिनुहोस्