
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आगामी स्थानीय तह निर्वाचनका लागि पार्टीको सम्पूर्ण शक्तिलाई परिचालन गर्ने निर्णय गरेको छ ।
बिहीबार सम्पन्न केन्द्रीय कमिटी बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीको सम्पूर्ण शक्तिलाई परिचालित गर्ने निर्णय गरेको हो ।
बैठकले निर्वाचनमा पार्टीको शक्तिलाई परिचालित गर्नेगरी कार्ययोजना पारित गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताउनुभयो । त्यसैगरी एमसीसीको विपक्षमा रहेका मतलाई पार्टीको बौद्धिक सम्पतिको रुपमा राखी आवश्यकता अनुसार आगामी दिनमा छलफल गर्ने र अहिले भने केन्द्रीय कमिटी बैठकले गरेको निर्णयलाई स्वीकार गरि अघि बढ्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।
बैठकले १५ बुँदे समसामयिक प्रस्ताव पनि पारित गरेको छ । विश्वका विभिन्न देशहरुमा युद्ध भइरहेको प्रति एकीकृत समाजवादीले खेद प्रकट गर्दै आक्रमणमा परेकाहरुप्रति सहानुभुति प्रकट गरेको छ । पेट्रोलियम पद्धार्थमा भएको मुल्यवृद्धिले जनताको जनजिवन कष्टकर बनेकाले सरकार सँग दैनिक उपभोग्य बस्तुको मुल्यवृद्धि नियन्त्रण गर्न माग गरिएको प्रवक्ता खतिवडाले जानकारी दिनुभयो ।
सुकुम्बासी समस्या समाधान आयोगले सही सुकुम्बासीको यथाशीघ्र पहिचान गरी प्रभावकारी ढंगले दिर्घकालीन समाधानको पहल गर्न पनि समाजवादीले आव्हान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्