१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


मेयर कप क्रिकेट : देहिमाडौंको पहिलो जित


338
Shares

बैतडी । बैतडी जिल्लाकाे दशरथचन्द नगरपालिकामा जारी पाचौं संस्करणको मेयर कप पुरुष टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा देहिमाडौंले पहिलो जित हासिल गरेको छ ।

दशरथचन्द नगरपालिका–२ देहिमाडौंले वडा नम्बर १ गुरुखोलालाई ६ विकेटले हराएको हो । यसअघि पहिलो खेलमा देहिमाडौं बाराकोटसँग हारेको थियो । निंग्लाशैनी खेल मैदानमा गुरुखोलाले दिएको ११२ रनको लक्ष्य देहिमाडौंले ७.२ ओभरमा ४ विकेट गुमाएर पुरा गरेकाे छ ।

देहिमाडौंका भुपेन्द्र रावतले नटआउट ४४, दिपक बोहरा ३२ र सन्तोस बिजलेले ३० रन जोडेका छन । त्यस्तै गुरुखोलाका हरिश भाटले २ विकेट लिएका छन ।

त्यसअघि पहिला ब्याटिब गरेको गुरुखोला १७.४ ओभरमा १११ रनमा समेटिएकाे छ । गुरुखोलाका सुरेश भाटले ३३, दिपक भट्टले २३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । देहिमाडौंका दीपक बोहराले ४, सन्तोस बिजलेले २ विकेट झारे । खेलका म्यान अफ द म्याच देहिमाडौंका दिपक बोहरा चुनिएका छन् ।

दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा फागुन २५ देखि सञ्चालन भएको प्रतियोगिता चैत २ गते सम्पन्न हुनेछ । प्रतियोगितामा सहभागी ११ टोलीलाई चार समूहमा विभाजन गरिएको नगर क्रिकेट समितिले जनाएको छ ।

उपाधि विजेता टोलीले ७५ हजार र उपविजेता टोलीले ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिएका छन् ।

नगरपालिकाको वार्षिक कार्यक्रमअनुसार प्रत्येक वर्ष मेयर कप क्रिकेट प्रतियोगिता सञ्चालन हुँदै आएको दशरथचन्द नगरपालिकाका क्रिकेट प्रशिक्षक दिपेन्द्र बहादुर बोहराले बताएका हुन् । साे प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास समेत गरिएको छ ।

यसअघि गत वर्ष सम्पन्न चौथो संस्करणको मेयर कपको उपाधि वडा नं ५ दशरथचन्दलाई ४ रनले स्तब्ध पार्दै वडा नं ४ खलंगाले हात पारेको थियो ।