
काठमाडौं । चालु आर्थिक वर्षको सातौं महिनामा पनि मुलुकको समष्टिगत आर्थिक सूचकहरुमा खासै सुधार आउन सकेको छैन । मूल्य वृद्धि समेत उकालो लाग्न थालेको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक बर्षको सातौं अर्थात् माघ महिनासम्मको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार माघ महिनामा उपभोक्ता मूल्यवृद्धि ५.९७ प्रतिशत पुगेको छ ।
अघिल्लो वर्षको यसै महिनामा यस्तो मुद्रास्फीति २.७ प्रतिशतमा सीमित रहेको थियो । यही बर्षको पुषसम्म पनि मूल्य वृद्धि ५६५ प्रतिशत रहेको थियो । यस अवधिमा पनि विप्रेषण आप्रवाह ४.९ प्रतिशतले कमी आई ५ सय ४० अर्ब कायम भएको छ । अघिल्लो वर्षको यसै अवधिमा विप्रेषण आप्रवाह करिब ११ प्रतिशतले बढेको थियो । विप्रेषण आप्रबाह घट्ने दर भने सामान्य सुधारिएको हो । पुषमा विप्रेषण आप्रवाह ५.५ प्रतिशतले घटेर ४ सय ६८ अर्ब कायम भएको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २ लाख बढी पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८५ प्रतिशतले घटेको थियो । पुषसम्म श्रम स्वीकृति लिनेको संख्या १ लाख ६७ हजार बराबर रहेको थियो । एक महिनामा श्रम स्वीकृति लिने ३२ हजार बढेका हुन् । त्यसैगरी, पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २ सय ६५ प्रतिशतले वृद्धि भई डेढ लाख बढी पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७३ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा चालु खाता ४ सय १३ अर्ब ८६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा चालु खाता १ सय ४ अर्ब ३९ करोडले घाटामा रहेको थियो । पुष समम्म चालु खाता ३ सय ५४ अर्ब ७ करोडले घाटामा रहेको थियो । शोधनान्तर घाटा २ सय ४७ अर्ब ३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा शोधनान्तर स्थिति ९७ अर्ब ३६ करोडले बचतमा रहेको थियो । पुषसम्म शोधनान्तर घाटा २ सय ४१ अर्ब २३ करोड रहेको थियो ।
यस्तै, विदेशी विनिमय सञ्चिति ११ खर्ब ७३ अर्ब कायम भएको छ । २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब बराबर रहेको थियो । यही बर्षको पुषको तुलनामा भने विदेशी विनिमय सञ्चितिमा सामान्य सुधार आएर ७ अर्ब बराबर बढेको देखिएको छ । पुस मसान्तमा विदेशी विनिमय सञ्चिति ११ खर्ब ६५ अर्ब ८० करोड कायम भएको थियो । आयात नियन्त्रणका कदमले विदेशी विनिमय सञ्चितिमा केही योगदान पुगेको विश्लेषण गरिएको छ । आर्थिक वर्ष २०७८÷७९ को सात महिनामा कुल वस्तु निर्यात ८८ प्रतिशतले वृद्धि भई १ सय ३१ अर्ब ६६ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ७.६ प्रतिशतले वृद्धि भएको थियो । यस अवधिमा कुल वस्तु आयात ४२ प्रतिशतले वृद्धि भई ११ सय ४७ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात नगन्य बढेको थियो । यसरी निर्यात बढेपनि आयात उच्च नै हुँदा व्यापार घाटा ३८ प्रतिशतले वृद्धि भई १० खर्ब १५ अर्ब ८१ करोड पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्