१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


इतिहासको दर्दनाक सतिप्रथा सम्झाउने पशुपतिको सतिद्वार दुर्व्यवसनीको अखडा बन्दै


9.932k
Shares

काठमाडौं । पशुपतिनाथ परिसरमा राममन्दिरकाे प्रवेशद्वार नजिक रहेको सती जाने बाटो अर्थात सतिद्वार छ । राणा शासनकालमा राजा महाराजाहरूको मृत्युपछि सती जाने प्रथा अनुरुप यही स्थानबाट सती जाने गरिएको किबन्दन्ती छ ।

सति जाने जो कोहीलाई बाजागाजा सहित जयबागेश्वरी मन्दिरबाट राममन्दिरकोे अन्तिम दर्शन गराई यही द्वारबाट आफ्ना पतिको शवसँगै बाँधेर बाटो खोलिन्थ्यो । निकै नै दर्दनाक हुने यो प्रथामा सती जानेको चित्कार सुन्न नपरोस् भनि ठूलो आवाजमा बाजा बजाउने चलन थियो ।

चरम अमानवीय र नेपालको जनसंख्या पनि कम भएका कारण सति प्रथा रहुन्जेल जनसंख्या पनि घट्ने हुनाले राणा प्रधानमन्त्री चन्द्र शमशेरले सति प्रथाको अन्त्य गरिएको पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्यसचिव गोविन्द टण्डन बताउनुहुन्छ ।

इतिहासको दर्दनाक कालखण्ड सम्झाउने यो द्वार हाल जीर्ण अवस्थामा पुगेको छ । त्यतिमात्र कहाँ हो र ? यही थलोलाई दुव्र्यसनीहरूले लागु औषध प्रयोगको अखडा समेत बनाएका छन् । पशुपति क्षेत्र विकास कोष ऐतिहासिक थलोको संरक्षणमा बेखबरजस्तै देखिएको छ ।

लागुपदार्थ प्रयोग भएको गुनासो आएको बताउँदै कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले नेपाल प्रहरी, सशस्त्र प्रहरी र कोषकै सुरक्षाकर्मी परिचालन गरी त्यसलाई नियन्त्रण गर्ने प्रतिबद्धता जनाउनुभयो । यद्यपि उहाँले पशुपति सबैको साझा क्षेत्र भएकाले कसैलाई पनि प्रवेशमै बर्जित गर्न भने नमिल्ने बताउनुभयो ।

विश्व सम्पदा सूचीमा सुचिकृत पशुपति मन्दिर परिसरमा रहेका ऐतिहासिक स्थल एकपछि अर्को गर्दै नासिने क्रममा रहेको छ । स्वच्छ र कलकल बग्ने बागमतीको दुर्दशा मात्र नभई यहाँ रहेका धरोहर एकपछि अर्को गर्दै नष्ट हुने क्रममा पुग्नु आफैंमा दुखद अध्याय हो ।

संस्कार र संस्कृतिको तीर्थ मानिने पशुपतिनाथको हाताभित्रकै यस्ता निधिको अवस्था यस्तो बेहाल छ भने अरुतिर के होला ? सहजै अनुमान गर्न सकिन्छ । त्यसैले इतिहासको नासो अर्को पुस्तालाई हस्तान्तरण गर्ने कर्तव्यबाट चुक्ने गल्ती नगर्नु नै बुद्धिमानी हो ।