
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्दप्रसाद बडूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफलमा एमालेको पनि सहभागिता हुने विश्वास व्यक्त गर्नुभएको छ ।
आइतबारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ मन्त्री बडूले न्यायपालिकालाई सुदृढ र सुद्धिकरण गर्नका लागि महाअभियोगको प्रस्तावमा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)को पनि सहभागिता हुने विश्वास व्यक्त गर्नुभएको हो ।
उहाँले महाअभियोग लगायत संसदमा रहेका अन्य विधेयकको सम्बन्धमा पनि एमालेसँग छलफल गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘मुलुकको स्वतन्त्र न्यायपालिकालाई सुदृढ गर्ने, सुद्धिकरण गर्ने र मर्यादित बनाउने यस्तो विषयमा मलाई लाग्छ सबैको सहभागिता हुन्छ । सबैले छलफलमा भाग लिन्छन् । सबैले निर्णय प्रक्रियामा भाग लिन्छन् । अरु विधेयकका बारेमा पनि हामी प्रमुख प्रतिपक्षसँग छलफल गरिरहेका छौँ । नागरिकता विधेयक छ । संघीय निजामती सेवा ऐनको विधेयक छ । तेजाबसम्बन्धी विधेयक छ । तिनीहरुलाई पनि हामी प्रतिस्थापन विधेयक ल्याउने संसदमा हामी छलफल गरिरहेका छौँ ।’
प्रतिक्रिया दिनुहोस्