
काठमाडौं । दान त्यस्तो होस, दाहिने हातले दिएको देब्रे हातले थाहा नपाओस् । दानहरुमा अन्नदान महादानभित्र पर्छ । जीवात्मा त्यही अन्न र फलफलादीको भरमा बाँचेका हुन्छन् । विश्वका हिन्दु धर्मावलम्बीहरुको एक मात्र पवित्र स्थल पशुपतिमा बिहानै एकजना दानवीर सधैं हाजिर हुन्छन, जसले त्यहाँका पशुपन्छीलाई अनवरत फलफूल र खाद्यान्न खुवाइरहन्छन् । पशुपतिका जीवजन्तु त उनका लागि साथीसंगी जस्तै भएका छन् । यिनीहरुलाई भोजन नगराई उनी मुखमा अन्न हाल्दिनन ।
पवन संघाई पेशाले व्यवसायी हुन । तर उनको नित्य पशुपति यात्राबाट शुरु हुन्छ । उनी पूजाअर्चनाका लागि पशुपतिमा लाइन लाग्दैनन् । बरु त्यहाँ रहेका पशुपन्छीको आहारा बोकेर त्यहाँ पुग्छन् । पशुपतिमा रहेका पाँच हजार बाँदर र अरु पशुपन्छीको भोक मार्ने दाताका रुपमा चारदशकदेखि उनले यो कामलाई निरन्तरता दिँदै आएका छन् । पिताले गरेको कामलाई पवनले निरन्तरता दिँदै आएका हुन । संघाई परिवारले त्यो बेला पनि धर्मशालामा पिठोको डल्ला पकाएर पशुपन्छीको सेवा गर्ने दायित्व लिएको थियो । सात वर्षको छँदादेखि नै पवनको आँखाले नियालेको थियो । धनसँगै मन भएका यी दानवीरले आफ्नो रुचि र कर्तव्य जोड्छन् । पिताले सुरु गरेको काम छोराले पनि निरन्तता दियोस् भन्ने पवनको चाहाना छ ।
प्रत्येक बिहान ६ बजे पवन पशुपति नपुग्दा त्यहाँका जीवजन्तुको छटपटी सुरु हुन्छ । जब पवन पशुपति हातामा पुग्छन, जीवजन्तु रमाउँ छन् । पशुपति धर्मशालामा पकाइएका पीठोको डल्ला बिहान ६ बजे उनका अनुयायीहरुले यसरी बाँड्ने गरेका छन् । भोले शब्द उच्चारण गर्नासाथ बाँदरको ओइरो लाग्छ ।
एक छाकमा ७५ केजीसम्म पिठो खर्च हुने गरेको छ । कोरोना संक्रमणपछि लकडाउनले पशुपतिनाथको लय फेरियो । दर्शनार्थीको पूजाआजा र आउजाउमा प्रतिबन्ध लगाइएपछि पवनमा पशुपतिनाथ रहेका पशुपन्छीको चिन्ताले छटपटी बढ्यो ।
पशुपन्छीको खान्कीको जोगाड गर्न महिनामा ५ लाख खर्च हुने गरेको छ । यस कार्यलाई भावी पुस्ताले पनि निरन्तरता दिनेमा उनी विश्वस्त छन् । एउटा व्यक्तिको इच्छाशक्तिले पशुपन्छीले आहार पाइरहेको यो पशुप्रेमीका लागि उत्प्रेरणा हो । विभिन्न रोगका कारण यहाँका पशुपन्छीले अकालमा ज्यान गुमाइरहनु परेको सन्दर्भमा कुनै मनकारीले स्वास्थ्य सेवामा पनि मन फराकिलो बनाइदिए पशुअधिकारका क्षेत्रमा ठूलो फड्को हुने थियो ।
प्रतिक्रिया दिनुहोस्