१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तेह्रथुम, धनकुटा र संखुवासभाको सीमानामा रहेको ईन्द्रेणी झरना प्रचारप्रसार नहुँदा ओझेलमा


221
Shares

तेह्रथुम । तेह्रथुम, धनकुटा र संखुवासभा जिल्लाकाे सीमानामा रहेको इन्द्रेणी झरनामा नपुग्ने सायदै कमै मात्रमा होलान ।पर्यटकीय रुपमा प्रचुर सम्भावना भएपनि यसको संरक्षण र प्रचारप्रसार नहुँदा ओझेलमा झै परेकाे देखिन्छ ।

गर्मी चढ्दै गएको छ । दिउँसोमासा घाम चर्कदै गएको छ । यस्तो बेलामा यस्तो झरनामा पुग्ने मोह कस्को पो नहोला र ?

संखुवासभाको धर्मदेवी नगरपालिकाभित्र पर्यटकीय सम्भावना बोकेको यो झरनामा पुग्नेहरु पनि विस्तारै बाक्लिदै गएको देखिन्छ । तर, प्रचारप्रसारको अभावमा यो गुमनाममै रहेको छ । धर्मदेवी नगरपालिका-३ संखुवासभामा रहेको झरना पूर्वको पर्यटकीय गन्तव्य टिएमजेको प्रवेशद्धारको रुपमा रहेको छ ।

बसन्तपुर बजारदेखी झण्डै आधा घण्टाको पैदल दुरी र मोटरसाईकलबाट १० मिनेटमा पुग्न सकिने यो झरना संरक्षणमा ध्यान नदिँदा गुमनाम झै बनेको हो ।

स्थानीयवासी, स्थानीय सरकार प्रदेश र संघीय सरकारले ध्यान नपुग्दा यो झरना ओझेलमा परेको हो । यो झरनालाई पर्यटकीय रुपमा विकास गर्ने हो भने पर्यटकहरुको आगमनसँगै आर्थिक गतिविधिसमेत बढ्ने स्थानीय विकास गुरुङले बताउनुभयो ।

कच्ची सडक छेउमै जंगलकोबीचमा रहेको यो झरना संरक्षणमा अहिले भने स्थानीयहरुले चासो देखाउन थालेका छन । तेह्रथुम,धनकुटा र संखुवासभाको संगमस्थमा रहेकाले पनि कस्ले यस्को संरक्षण गर्नेभन्नेमा सहमत नहुँदा यसको संरक्षण हुन नसकेको स्थानीय गोपाल भुजेलकाे भनाइ छ ।

प्राकृतिक रुपमा रहेको झरना घाम लागेको बेला ईन्द्रेणी झै देखिने भएकाले यो झरनाको नाम ईन्द्रेणी झरना राखिएको स्थानीयवासिन्दाको भनाइ छ । कच्ची सडक झरनाको छेउ सम्म पुगेपनी झरना संरक्षणको अभाव रहेको देखिन्छ ।

स्थानीय सरकार गठन भएको लामो समय भईसक्दा समेत यी र यस्ता पर्यटकीय गन्तव्यहरुको विकासमा ध्यान नदिँदा सम्भावना बोकेका पर्यटकीय गन्तव्यहरु अझै पनि ओझेलमै परेको देखिन्छ ।