
बागलुङ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्वाचनको समयमा सबै राजनीतिक दलहरुले एउटै मञ्चबाट मत माग्ने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभएको छ ।
तिमिल्सिनाले बागलुङमा सोमबारदेखि सुरु भएको बृहत स्वास्थ्य शिविरको उद्घाटन गर्दै तिमिल्सिनाले निर्वाचनको समयमा दलहरुले गर्ने कार्यक्रमहरुमा हुने खर्च कम गर्न र विकासका काममा साझा धारणा बनाउनका लागि सबै दलले एउटै मञ्चबाट आफ्ना धारणा राखेर मत माग्ने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो ।
निर्वाचनको समयमा मात्रै दलहरु सक्रिय हुने गरेको भन्दै उहाँले सधैं जनता, र विकासका लागि काम गर्ने हो भने निर्वाचन केन्द्रित कार्यक्रम आवश्यक नरहेको बताउनुभयो । विकास निर्माणको सन्दर्भमा सबै राजनीतिक दलहरुको एउटै धारणा हुनु पर्नेमा जोड दिनुभयो । निर्वाचनको समयमा हुने झैझगडालाई लक्षित गर्दै उहाँले मतदाताको टाउको फुटाएर उसैसँग मत माग्ने नैतिकता राजनीतिक दलहरुसँग नहुने जिकिर गर्नुभयो ।
अध्यक्ष तिमिल्सिनाले कोरोना महामारीपछि नेपालको स्वास्थ्य क्षेत्रमा परिवर्तन आएको बताउनुभयो । उहाँले नागरिकको स्वास्थ्य सुधारका लागि पहिले वातावरण सुधार गर्नसके अस्पतालको खाँचो नहुने धारणा राख्नुभयो ।
प्रतिक्रिया दिनुहोस्