
दुर्गा उपाध्याय (इमेज)
कञ्चनपुर, फगुन २७ । विश्वव्यापी रुपमा संक्रमण फैलिएको कोरोना भाइरसको त्रासका कारण नेपालमा पनि सामुहिक जमघट र भेटघाटका कार्यक्रम नगर्न सरकारले आग्रह गरेको छ ।
तर नेपाल भारतको सीमा नाका रहेको कञ्चनपुरमा भने होली पर्व धुमधामका साथ मनाइँदै छ । रंगहरुको चाडका रुपमा मनाइने यस पर्वलाई धार्मिक र साँस्कृतिक पर्वका रुपमा लिने गरिन्छ ।
तर, विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसकोे संक्रमणका कारण सरकारले यो वर्ष भने भीडभाड हुने खालका कार्यक्रम, सभा, समारोह र होली नखेल्न आह्वान गरेको छ ।
यसैबीच कञ्चनपुरका युवा तथा सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीले भने कोरोना सम्बन्धी सचेनता फैलाउने अभियान स्वरुप होली मिलन कार्यक्रम सञ्चालन गरेका छन् ।
धेरैलाई कोरोना रोगको संक्रमण र यसबाट बच्ने उपायका बारेमा थाहा नभएकाले यसबारे जानकारी दिने उद्देश्यले होली मिलन कार्यक्रम सुरु गरेको सुदूरपश्चिम विश्वविद्यालयमा स्नातक तहमा अध्यनरत विद्यार्थी विकाससिंह महता बताउछन् ।
यता स्वास्थ्यकर्मीले भने पानी र चिसोका कारण कोरोनाको संक्रमण फैलिने उच्च जोखिम रहेको भन्दै त्यसबाट बच्न आग्रह गरेका छन् ।
स्वास्थ्यकर्मीले सकेसम्म भिडभाडमा नजान र होली खेल्दा सकभर रङ र पानीको प्रयोग नगर्न सुझाव दिएपनि कतिपयले भने धार्मिक रुपमा जोड्दै होली खेल्दा यसको संक्रमण नहुने भीमदत्त नगरपालिकाका स्थानीयको दावी गरेका छ ।
स्थानीय प्रशासन, स्वास्थ्य कार्यालय, सुरक्षा निकाय र स्थानीय तहले समेत भीडभाडमा नजान आह्वान गरे पनि त्यसको कार्यान्वनय हुन नसकेको हो ।
यता कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि प्रसाद खतिवडा भने आम नागरिक सचेत नभएसम्म यस्तो समस्या देखिने बताछन् । परम्पराको संरक्षणका साथसाथै स्वास्थ्यमा पर्ने सम्भावित जोखिमप्रति पनि सजगता अपनाउनु बुद्धिमानी हुन्छ ।
प्रतिक्रिया दिनुहोस्