
अपडेट
काठमाडौं, फागुन २९ । सांसदहरुले ‘कोरोनाभाइरस’को सम्भावित संक्रमण रोक्न संसद, स्कुल र सार्वजनिक यातायात बन्द गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको शून्य समयमा बोल्दै उनीहरुले कोरोनाका कारण विश्व नै त्रसित रहेको भन्दै संक्रमण रोक्न तत्काल भीडभाड हुने स्थानहरुमा रोक लगाउन माग गरेका छन् ।
प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरु भीमसेनदास प्रधान, भरत शाहलगायतले कोरोना संक्रमण फैलिएमा मुलुकले थेग्न नसक्ने भन्दै संक्रमण हुनुअघि नै प्रभावकारी तयारी गर्न सरकारको ध्यानाकर्षण गराए ।
समाजवादी पार्टीकी सांसद रेणु यादवले कोरोना संक्रमणबाट बच्न आवश्यक तयारी गर्नुको सट्टा भाषण र विज्ञापनमा मात्रै सरकार रमाइरहेको टिप्पणी गरिन् ।
सांसद रंगमती शाहीले चीनको ताक्लाकोटमा रहेका दार्चुला, बझाङ र हुम्लाका स्थानीयलाई उद्धार गर्न माग गरिन् ।
सांसद राजेन्द्रकुमार केसीले कोरोना प्रकोपले विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य अत्यधिक घटेको अवस्थामा पनि नेपालमा भने उच्च मूल्य तिर्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
सांसद रामबहादुर विष्टले बजारमा स्यानिटाइजर, मास्क र उपभोग्य वस्तुलगायतका सामग्रीमा कालोबजारी र मूल्यवृद्धि गरिएको भन्दै कडाइका साथ बजार अनुगमन गर्न माग गरे ।
सांसद रेनुका गुरुङले पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटा र पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीमाथि लोगेको भ्रष्टाचारको छानबिनबारे जानकारी गराउन माग गरिन् ।
सत्तारुढ दल नेकपाका सांसद खगराज अधिकारीले कोरोनाबाट जोगिन आवश्यक सतर्कता अपनाउन र स्वास्थ्यकर्मीले उपचार गर्नसक्ने अवस्था बनाउन सरकारको ध्यानाकर्षण गराए ।
सांसद भरत शाहले प्रशासनकै मिलेमतोमा ढाँट राखेर पैसा उठाउने काम भइरहेको भन्दै यसलाई तत्काल रोक्न सरकारसँग माग गरे ।
विशेष समय
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको विशेष समयमा बोल्दै प्रतिपक्ष दल कांग्रेसकी सचेतक पुष्पा भुसालले कोरोना संक्रमण फैलिए सरकारले ‘क्वारेन्टाइन’मा नराख्ने स्वास्थ्यमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाइन् ।
मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजना गरिएको एक कार्यक्रममा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना संक्रमित भए ‘सेल्फ क्वारेन्टाइन’मा बस्नुपर्ने अभिव्यक्ति दिएका थिए ।
सांसद मीन विश्वकर्माले छुवाछूतका घटना बढिरहेको भन्दै दलित आयोग र महिला आयोग तत्काल गठन गर्न माग गरे ।
बैठकले पूर्वमन्त्री, संविधानसभा सदस्य एवं कांग्रेसका नेता पूर्णकुमार शेर्माको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
शेर्माको ७६ वर्षको उमेरमा फागुन २८ गते बुधबार ललितपुरस्थित निदान अस्पतालमा मिर्गौला रोगको उपचारको क्रममा निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्