१४ बैशाख २०८२, आइतबार | Mon Apr 28 2025


भारतसँग सीमा जोडिएका पाँच नाका बन्द


0
Shares

बैतडी, फागुन ३० । कोभिड–१९ को सङ्क्रमण भित्रिन नदिन भारतसँग सीमा जोडिएका यहाँका पाँच नाका बन्द गरिएका छन् ।

पञ्चेश्वर ,शिवनाथ गाउँपालिका र दशरथचन्द नगरपालिकाका विभिन्न पाँच नाका बन्द गरिएका हुन् ।

डुङ्गाबाट आवतजावत हुने घाट तत्कालका आवतजावत बन्द गरिएको जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले जानकारी दिए ।

बलरा, धरम, ढोया, कुस्मत र खैरेनी घाट बन्द गरिएका जनाइएको छ । भाइरसको पूर्वसतर्कता अपनाउन ती नाकामा आवतजावत बन्द गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

जिल्लाका भारतसँग सीमा जोडिएका चार नाकामा स्वास्थ्य परीक्षण कक्ष (हेल्थ डेस्क) सञ्चालनमा तयारी गरिएको छ । मुख्य नाकाका रुपमा रहेको झुलाघाटमा यही फागुन १० गतेदेखि कक्ष सञ्चालनमा रहेको छ ।

तल्लोस्वराडमा रहेका अन्य चार नाकामा तत्काल कक्ष सञ्चालन गर्ने निर्णय भएको  हो । झुलाघाटमा दशरथचन्द नगरपालिका, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालले संयुक्तरुपमा सहायता कक्ष स्थापना गर्न लागेका हुन् ।

डुङ्गाबाट आवतजावत हुने तल्लोस्वराडमा चार घाटमा कक्ष स्थापना गर्ने निर्णय भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

शिवनाथ गाउँपालिकाको सुल्लेखानमा बसेको सरोकारवालाको बैठकले पञ्चेश्वरको रोलघाट, डिम्बरघाट र विनायक घाट तथा शिवनाथको नागार्जुन घाटमा कक्ष स्थापना गर्ने निर्णय भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए ।

जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्ट, शिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह साउँद, पञ्चेश्वर गाउँपालिकाका उपाध्यक्ष बीना भट्ट लगायतको सरोकारवाला सम्मिलित बैठकले हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरेको हो । रासस