१४ बैशाख २०८२, आइतबार | Mon Apr 28 2025


कोरोनाको जोखिम नियन्त्रणका लागि मोरङ र सुनसरीमा क्वारेन्टाइन


0
Shares

ध्रुव भट्टराई (इमेज)

विराटनगर, फागुन ३० । कोरोना भाइरसको त्रास फैलिएपछि प्रदेश १ सरकारले सम्भावित जोखिम नियन्त्रणका लागि मोरङ र सुनसरीमा क्वारेन्टाइन स्थापना गर्न लागेको छ ।

संक्रमण भित्रिन नदिनका लागि सीमा नाका तथा विमानस्थलमा हेल्थ डेस्क राखी क्वाटेन्टाइनको समेत व्यवस्थापन गर्न थालिएको हो ।

कोरोनाको संक्रमणविरुद्धको तयारीका लागि प्रदेश १ सरकाले मोरङको लेटाङ नगरपालिकामा पर्ने टाँडी र सुनसरीको श्रीलंकाटापुमा क्वारेन्टाइन स्थापना गर्न लागेको हो ।

पहिलो चरणमा टाँडीमा रहेको सैनिक क्याम्पको जमिन र कोशी नदीको बीचमा रहेको श्रीलंका टाप्पुमा क्वारेन्टाइन स्थापना गर्ने तयारीमा रहे पनि कति क्षमताको हुने भन्ने अझै खुलेको छैन ।

सम्भावित जोखिम नियन्त्रण गर्न प्रदेश सरकारले आवश्यक परे अन्य क्षेत्रमा पनि क्वारेन्टाइन विस्तार गर्न सक्ने जनाएको हो ।

कोरोनाको सम्भावित जोखिम नियन्त्रणका लागि प्रदेश सरकारले बिहीबार सर्वपक्षीय छलफलसमेत गरेको थियो ।

छलफलपछि कोरोनाको संक्रमण भित्रिन नदिन सिमा नाका र विमानस्थलमा आवश्यक सुरक्षा जाँचको प्रबन्ध मिलाइएको जनाइएको छ ।

यसको संक्रमण विश्वभर फैलिँदै गएपछि भारतले पनि शुक्रबारदेखि पर्यटक आवागमन रोकेको छ । विश्वभर अपनाइएको सतर्कतालाई मध्येनजर गर्दै प्रदेश सरकारले पनि यसको विरुद्धमा केही तयारी थालेको हो ।