
बैतडी । यू–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टका अनुसार प्रतियोगिताका लागि १४ सदस्यीय टोली घोषणा गरिएको हो ।
टोलीमा स्नेहा महरा, मनिषा चौधरी, अन्नु कडायत, जानकी थापा, सुधा धामी, पवित्रा धामी, यशु पाण्डेय, यशोदा विष्ट, मनिषा बोहरा, सिमा कुँवर, आयुष्मा धानुक, रमा बुढाथोकी, अनिता जोशी र राधिका पुजारा अटाएका छन् । यस्तै, लक्ष्मी महर, कषिश पाल, चेतना कुँवर र मनिषा बोहरा वैकल्पिक खेलाडीको रुपमा छनौट भएका सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले जनाएको छ ।
बन्द प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा १४ जनाको टोली घोषणा गरिएको सुदूरपश्चिम क्रिकेट प्रशिक्षक जानकी कुमारी भट्टले बताउनुभयो ।
नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रदेशको सहयोगमा यही चैत ६ गतेदेखि धनगढीमा यू–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता हुँदैंछ ।
यू–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता पहिलोपटक आयोजना गरिएको हो ।
धनगढीको फाप्ता क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगितामा सातै प्रदेशको सहभागिता रहनेछ । समूह‘ ए’ मा सुदुरपश्चिम प्रदेश, कर्णली प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेश रहेका छन् । यस्तै, समूह ‘बी’ मा प्रदेश–१, मधेस प्रदेश र गण्डकी प्रदेश रहेका छन् ।
उद्घाटन खेलमा सुदूरपश्चिम र कर्णालीबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्