
काठमाडौं, फागुन ३० । संसदको सार्वजनिक लेखा समितिमा पूर्वमन्त्री गोकुल बाँस्कोटामाथि अख्तियारले छानबिन गर्नुपर्ने आवाज उठेको छ ।
समितिको शुक्रबार बसेको बैठकमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका पूर्वमन्त्री बाँस्कोटामाथि अख्तियारले छानबिन गर्नुपर्ने माग सदस्यहरुले राखेका हुन् ।
बैठकमा सांसदहरुले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोडको कमिसन डिलको अडियो सार्वजनिक भएकोले सत्यतथ्य छानबिनका लागि अख्तियारलाई जिम्मा दिनुपर्ने माग गरेका हुन् ।
कांग्रेस सांसद तेजुलाल चौधरीले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका तत्कालीन सञ्चार मन्त्रीले राजीनामा दिँदैमा उन्मुक्ति दिन मिल्दैन भन्दै सत्यतथ्य छानविनका लागि अख्तियारलाई जिम्मा दिनुपर्ने बताए ।
सांसदहरुले प्रेस खरिद सम्बन्धि टेण्डरमा अपनाइएको ‘जीटूजी’ प्रकृया नै गलत भन्दै उक्त बाटोबाट खरिद नगर्न सुझाए ।
सांसदहरु डा. मिनेन्द्र रिजाल, मोहमद इस्तियाक राईलगायतले प्रेस खरिद प्रकरणबारे समितिमा भएको छलफलमा नयाँ सञ्चारमन्त्री युवराज खतिवडाले समेत जीटुजी प्रकृयालाई रोकेर ग्लोबल टेण्डरमा जानुपर्ने बताइसकेकाले हालको प्रक्रिया रोकेर ग्लोबल टेण्डरमै जान सरकारलाई सुझाव दिए ।
नेकपा सांसद विरोध खतिवडाले त सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्दा ‘जीटुजी’ (सरकार र सरकारबीच) नभएर ‘सीटुसी’ (कमिसन टु कमिसन) प्रक्रिया अवलम्बन भएको समेत चने ।
प्रेस खरिद प्रकरणमा तत्कालीन मन्त्री बाँस्कोटाले स्वीस कम्पनीको नेपाल दलाल विजय मिश्रसँग कमिसन मागेको अडियो सार्वजनिक भएपछि फागुन ८ गते राजीनामा दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्