
काठमाडौं, फागुन ३० । संसदको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा भएको अनियमितता छानबिनको जिम्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिने निर्णय गरेको छ ।
शुुक्रबार समितिमा भएको छलफलमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा अनियमितता भएको र त्यसको छानबिनका लागि अख्तियारलाई आग्रह गर्नुपर्ने माग सांसदहरुले राखेका थिए ।
बैठकमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका पूर्वमन्त्री बाँस्कोटामाथि अख्तियारले छानबिन गर्नुपर्ने माग सदस्यहरुले राखेका थिए । सांसदहरुले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा बाँस्कोटाको ७० करोडको कमिसन डिलको अडियो सार्वजनिक भएकोले सत्यतथ्य छानबिनका लागि अख्तियारलाई जिम्मा दिनुपर्ने माग गरेका हुन् ।
समिति सदस्यहरुबीचको छलफलपछि सभापति भरत शाहले खरिद प्रक्रियामा संलग्न भएका सबै व्यक्तिको छानबिन गर्ने जिम्मा अख्तियारलाई दिने निर्णय भएको जानकारी दिए ।
यसैगरी समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि ग्लोबल टेन्डर आह्वान गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।
सरकार–सरकारबीच खरिद प्रक्रिया अघि बढाउँदा अनियमितता हुने सम्भावना भएकाले ग्लोबल टेण्डरका लागि निर्देशन दिइएको सभापति शाहले बताए ।
सांसद धर्मशिला चापागाईले हालको खरिद प्रक्रिया तत्काल रोकेर भ्रष्टाचारमा संलग्नलाई कारबाहीका लागि उपसमिति गठन गरी छानबिन गर्न माग गरिन् ।
सांसद डा. मिनेन्द्र रिजालले सार्वजनिक खरिद प्रक्रियामा समस्या भए सो प्रक्रिया पुनरावलोकन गर्न सम्बन्धित मन्त्रालयका मन्त्री र मुख्य सचिवसँग छलफल गर्नुपर्ने सुझाव दिए ।
प्रेस खरिद प्रकरणमा तत्कालीन मन्त्री बाँस्कोटाले स्वीस कम्पनीको नेपाल दलाल विजय मिश्रसँग कमिसन मागेको अडियो सार्वजनिक भएपछि फागुन ८ गते राजीनामा दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्