१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पुरानै लयमा फर्कँदै पर्यटन व्यवसाय, एकैपटक १३ आरोहीले धौलागिरि आरोहण गर्दै


52
Shares

काठमाडौं । कोरोनाका कारण लामो समयदेखि थलिएको पर्यटन व्यवसाय पुनः पुरानै लयमा फर्कन थालेको छ ।

कोरोनाको संक्रमण दर कम भएको र हिमाल आरोहणको याम सुरू भएसँगै म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित धौलागिरी हिमाल आरोहणका लागि १३ विदेशी आरोहीसहितको टोली बेस क्याम्पतर्फ प्रस्थान गरेको छ ।

इमेजिङ नेपाल नामक ट्रेकिङ संस्थामार्फत विभिन्न देशबाट १३ जना हिमाल आरोहणका लागि म्याग्दीमा आएको पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो ।

कोरोनाको पहिलो, दोस्रो लहरले थला परेको हिमाल आरोहणमा पुनः आरोहीको चहलपहलले पर्यटन व्यवसायीसमेत उत्साहित भएका छन् ।

आठ हजार मिटर अग्लो धौलागिरि र अन्नपूर्ण हिमाल कालीगण्डकी गल्छीको वारीपारी रहेकाले पनि आरोहण गर्न र अवलोकन गर्नका लागि पर्यटकको रोजाइमा यो स्थल पर्छ ।

त्यस्तै उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित ८ हजार ९१ मिटरको संसारकै दशौं अग्लो अन्नपूर्ण हिमाल अवलोकनका लागिसमेत आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।

त्यस्तै धवलागिरि गाउँपालिकामा रहेको गुर्जा र चुरेन हिमालका लागि पर्यटकले गर्ने खर्च बढी भए पनि जिल्लाले त्यसको फाइदा लिन सकेको छैन ।

धवलागिरि गाउँपालिका– १ मा अवस्थित ७ हजार १९३ मिटर अग्लो गुर्जा हिमाल आरोहणमा गएका पाँच कोरियाली आरोही र उनीहरूका चार नेपाली सहयोगी गरी नौजनाको मृत्यु भएपछि गुर्जामा आरोहीको चहलपहल हुनसकेको छैन ।