
काठमाडौं । क्रिप्टोकरेन्सीको अवैध कारोबार गरेको अभियोगमा राजश्व अनुसन्धान विभागले दुई जना विरुद्ध मुद्दा दायर गरेको छ ।
विभागले रतुवामाई नगरपालिका–७ मोरङका पुष्कर श्रेष्ठ र विनिता लिम्बूविरुद्ध ‘विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अनुसार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।
उनीहरूले नेपालमा प्रतिबन्धित वानएक्सवेट, विनाश, एड्भी क्यास, क्वाइनबेस र प्याक्फुल जस्ता माध्यमको प्रयोग गरी सामूहिक मिलेमतोमा अमेरिकी डलरको गैरकानुनी कारोबार गरेको पाइएको जनाइएको छ ।
आरोपितले विभिन्न एप तथा गैरकानुनी माध्यममार्फत रकम राख्ने वा पठाउने गरेको पाइएको विभागले जनाएको छ ।
विभागले उनीहरूविरुद्ध कूल ९ करोड ७४ लाख रुपैयाँ बराबरको विदेशी विनिमयको अपचलन गरेको आरोपमा बिगो जफत गरी सजाय र तीन वर्षसम्मको कैद सजायको मागदाबी गर्दै मुद्दा दायर गरेको जनाएको छ ।
यसैबीच, नेपाल दूरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ लगायत अनलाइन जुवाका वेबसाइट, अनलाइन सञ्जाल एवं एपमाथि प्रतिबन्ध लगाउन इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ ।
प्राधिकरणले यस्ता क्रियाकलापहरू नेपाल भित्र प्रयोग, संचालन र व्यवस्थापन गर्न नपाउने गरी निषेध, डिजेबल एवं कालोसूचीमा राखिदिने व्यवस्था गर्न आइएसपीहरूलाई निर्देशन दिएको हो ।
प्रतिक्रिया दिनुहोस्