
काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक बर्ष ०७९/८० को बजेट निर्माणको गृहकार्य अघि बढाएको छ ।
मन्त्रालयले कृषिसँग सम्बन्धित सरोकारवालाहरुसँग अन्तरक्रिया गर्दै बजेट निर्माणको गृहकार्य अघि बढाएको हो । अर्थसचिव मधुकुमार मरासिनीले सरकारले यो क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर नै पहिलो छलफल कृषि क्षेत्रबाट सुरु गरेको बताउनुभयोे ।
हरेक नीति कार्यक्रम र बजेटमा कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेपनि उत्पादन वृद्धि हुन नसकेको र आयात बढेकोमा चिन्ता थपिएकाले आगामी बजेटमा कृषि मैत्री नीति लिन आवश्यक भएकोमा उहाँले जोड दिनुभयो ।
छलफललाई सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले कृषिलाई पहिलो प्राथमिकतामा राखेकाले सुझाव संकलनको शुरुवात कृषिबाट गरिएको बताउनुभयो । आगामी आबको बजेटमा कृषिमा अनुदान होइन, किसानलाई प्रोत्साहनको नीति लिइने उहाँले उल्लेख गर्नुभयो ।
कृषिमा प्रर्याप्त बजेट बिनियोजन हुने भएपनि किसान तहसम्म पुगेर कार्यान्वयन नहुँदा समस्या आएको उहाँको भनाई थियो । छलफलमा नेपालको माटो सुहाउँदा नीति बनाउन, निर्यातमा सहजीकण गर्न, बिना धितो ५० लाख रुपैयाँसम्मको कृषि कर्जा उपलब्ध गराउन, न्यूनतम समर्थन मूल्य तोकेपछि कार्यान्वयनको जिम्मेवारी सरकारले लिनुपर्ने लगायतका सुझाव दिइएको थियो ।
प्रतिक्रिया दिनुहोस्