१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कीर्तिपुरका स्वबासीलाई लालपूर्जा


0
Shares

काठमाडौं । सरकारले कीर्तिपुर ५ वडा पांगाको खाःचो बस्तिमा स्वबासीलाई जग्गा धनी प्रमाण पत्र लालपूर्जा वितरण गरेको छ ।

वि.स. २०१९ सालको जग्गा नापजाँच ऐनपछि ब्लक नापी भई हालसम्म ब्लकमै रहेका जग्गाको सरकारले पुनः कित्ता नाप गरि मंगलबार लालपुर्जा वितरण गरिएको हो ।

नापी भएर अहिलेसम्म ब्लकमा रहेका ३६ वटा कित्ताका ३२ स्थानीय घर परिवारलाई भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले लालपुर्जा वितरण गर्नुभएको हो ।

लालपूर्जा वितरण कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले भमिहिन नागरिकलाई जमिन उपलब्ध गराउने पहिलो प्राथमिता रहेको बताउनु भयो । उहाँले भमिहिन नागरिकलाई जग्गा दिने चार महिनाको अभियानमा १५ हजार भुमिहिन नागरिकलाई लालपूर्जा वितरण गरि सकिएको बताउनुभयो ।

मन्त्री श्रेष्ठले राष्ट्रिय भुमि आयोग मार्फत अहिले रहेको भुमिहिन समस्या सदाका लागि अन्त्य गर्ने गरी काम गरिरहेको बताउनु भयो । उहाँले किर्तिपुरका स्वबासीका जनतालाई यो वर्षको कार्यक्रम नै नभएको बजेट तथा कर्मचारी अभावका बीच तत्काल जग्गा नापी गरेर भुमिहिन जनतालाई जग्गाको लालपूर्जा वितरण गरिएको बताउनु भयो ।मन्त्री श्रेष्ठले जग्गा पूर्जा वितरण गर्न खोज्यो भने गर्न सकिने रहेछ भन्ने एउटा उदाहरण भएको पनि बताउनुभयो । उहाँले सरकारले सहिद, बेपता परिवार, हलिया, कमैया, कमलरी, हरुवा, चरुवा लगायत सिमान्तकृत समुदायका लागि नापी तालिमको व्यवस्था गर्ने बताउनुभयो ।

पुर्जा वितरण कार्यक्रममा काठमाडौं १० नं. क्षेत्रका सांसद राजेन्द्र कुमार केसी, प्रदेश सभा सांसद पुकार महर्जन, कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन, उपमेयर सरस्वती रिजाल खड्कालगायत ५ वडाका पदाधिकारीहरू नापी विभाग, नापी कार्यालय, कलंकीका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।