
काठमाडौं । मुआब्जाको माग गर्दै बञ्चरेडाँडाका स्थानीय आन्दोलित भएपछि काठमाडौं उपत्यकाको सडक फोहोरको डङ्गुरले भरिएका छन् ।
फागुन २५ गतेबाट उठ्न नसकेको फोहोरले काठमाडौंका सडक भरिदा दुर्गन्ध फैलिन थालिसकेको छ । जथाभावी फोहोर फाल्दा थुप्रिएको फोहोरका कारण सवारी आवत जावतमा समस्या आउन थालेको छ भने पैदलयात्रीलाई उस्तै समस्या छ ।
लामो समय उठ्न नसकेको फोहर कुहिएपछि निस्केको दुर्गन्धले सडक छेउछाउका व्यापार व्यवसायमा पनि असर परेको व्यापारीहरू बताउँछन् । दुर्गन्धले गर्दा ग्राहकहरु नआउने गरेको उनीहरूको दुखेसो छ ।
यति मात्र होइन, सडक छेउमा नै थुपारिएको फोहोरका कारण उपत्यकाको सौन्र्दयतालाई पनि ओझेलमा पारेको छ । फोहोर व्यवस्थापन हुन नसक्दा फैलिएको दुर्गन्धले आम नागरिकको स्वास्थ्यमा असर पार्ने जनस्वास्थ्य क्षेत्रका जानकारहरू बताउँछन् ।
लामो समयको कोभिड महामारीबाट बल्लतल्ल तङ्ग्रिदै गरेको आम नागरिकको स्वास्थ्यमा असर पर्ने गरी फैलिएको दुर्गन्धले काठमाडौंबासीलाई थप चिन्तित बनाएको छ । महानगरले फोहोर नउठाउँदा पुनः महामारीको जोखिम बढेको उनीहरू बताउँछन् ।
काठमाडौं उपत्यकामा फोहोर उठ्न नसकेको यो पहिलोपटक भने होइन । बञ्चरेडाँडा र सिसडोलका स्थानीयले विभिन्न माग राख्दै फोहोर विर्सजनमा अवरोध पुर्याउँदै आएका छन् ।
फोहोर व्यवस्थापनको मुख्य जिम्मेवारी पाएको काठमाडौं महानगरपालिका जनस्वास्थ्यसँग प्रत्यक्ष प्रभाव राख्ने विषयको व्यवस्थापनमा चुकिरहेको छ । काठमाडौं महानगरका प्रवक्ता ईश्वरमान डंगोल, स्थानीय र सरकारबीच वार्ता भइरहेको र छिट्टै फोहोर उठ्ने बताउनुहुन्छ ।
‘बञ्चरेडाँडा वरपरका तीन किलोमिटर जग्गाको अधिग्रहण गरेरर मुआब्जा दिन स्थानीयले माग राखेका छन्,’ उहाँले भन्नुभयो, ‘मागको सन्दर्भमा नेपाल सरकारसँग छलफल भइरहेको र छिट्टै सहमति हुन्छ, त्यसपपछि फोहोर उठ्छ ।’
उपत्यकाको फोहोर व्यवस्थापनका विषयमा विभिन्न विकल्पका बारे समय समयमा छलफल हुँदै आएको छ ।
बञ्चरेडाँडाका स्थानीय आन्दालित हुँदा उनीहरूसँग उधारो सम्झौता गरेर स्थायी व्यवस्थापनको आश्वासन बाँड्ने सरकार अरु समयमा कानमा तेल हालेर बस्दा उपत्यकाबासीले दुःख पाइरहेका छन् ।
यसको स्थायी समाधानका लागि सरोकारवाला निकायले समयमा नै ध्यान दिन जरुरी देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्