१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चुनाव नजिकिएसँगै जनप्रतिनिधिको नौटङ्की, प्रयोग भइरहेका संरचना उद्घाटन र शिलान्यास


689
Shares

काठमाडौं । पदावधि सकिने तर्खरमा पुग्दा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको दैनिकी फेरिएको छ । उद्घाटन, शिलान्यास, सस्तामस्ता कार्यक्रममा उहाँका रुचि देखिन थालेका छन् ।

प्रत्येक दिन नयाँ–नयाँ काम गर्नेदेखि रेल कुदाउनेसम्मका योजना बनाएर प्रमुख बनेका शाक्य अहिले प्रयोगमा आइसकेका संरचनामा नाम टाँसेर उद्घाटनमा रमाउन थाल्नुभएको छ ।

रामशाहपथमा उपयोगमा आएको आकाशेपुलको उद्घाटनको भद्दा दृश्यले जनप्रतिनिधिको मनोवृत्ति उजागर गरिदिएको छ । महानगरले उद्घाटनका नाममा गरेको कार्यक्रम र शाक्यको सक्रिय सहभागिता धेरैका लागि लाजको विषय बन्यो ।

विकास निर्माणका नाममा प्रमुख शाक्यको पछिल्लो सक्रियताले उत्साह कम, विवाद धेरै ल्याउने काम गरेको छ । आफ्नो स्वार्थका लागि ज्याठामा रहेको मल्लकालीन पुरातात्त्विक संरचनाहरू हटाएर व्यापारिक स्थानमा परिवर्तन गराउन समेत पछि नहट्ने जनप्रतिनिधिहरूको गतिविधिले आम जनता भने दिक्क छन् ।

स्थानीय तहको चुनाव नजिकिएसँगै जनप्रतिनिधिहरूमा सस्तो लोकप्रियता कमाउने होड बढेको छ । मतदाता प्रभावित गर्न उनीहरूले नियम कानुनको धज्जी त उडाएका छन् नै, वर्षौंदेखि प्रयोगमा आइसकेका संरचनामा समेत गएर उद्घाटन र शिलान्यासको नौटङ्की थालेका छन् ।

जब–जब चुनाब नजिकिदै जान्छ तब तब जनप्रतिनिधिहरू एक पछि अर्को गर्दै विकास निर्माणका कार्यहरूमा सक्रिय देखिन्छन् । नजिकिँदै गरेको स्थानीय चुनावका कारण स्थानीय प्रतिनिधिहरू उद्घाटन र शिलान्यास गर्न भ्याइ–नभ्याइ छ ।

यद्यपि जनताले भने यसलाई चुनाव नजिकिएसँगै मत प्राप्त गर्ने टौटङ्कीका रुपमा बुझेका छन् । उनीहरू जनप्रतिनिधिले पाँचै वर्ष आफ्ना लागि काम गरिदिउन् भन्ने चाहन्छन् । तर जनप्रतिनिधिले टेरे पो ! अहिले आएर विकास निर्माणमा चटारो नगरेको र सधैँभरी जनताकै सेवामा जुटिरहेको उनीहरूको तर्क छ ।

चुनाव नजिकिँदै गर्दा जनप्रतिनिधिहरूको व्यवहार र काम गर्ने रबैयामा परिवर्तन आउने विषयमा सबै नेपाली जनता अवगत नै छन् । काठमाडौं महानगरपालिकाको कुरा गर्ने हो भने यतिबेला महानगरपालिकाका हरेक विषयमा जनप्रतिनिधिको चासोको विषय बन्न थालेको छ ।

आफ्नो कार्यकालको समयावधि सकिन केहि समय मात्रै रहँदा जनप्रतिनिधिहरूमा आएको सकारात्मक परिवर्तनहरू बखानयोग्य छन् । यस्तै सकारात्मक परिवर्तन सबै जनप्रतिनिधिले समयमै देखाउने हो भने समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय नाराले अभिष्ट पूरा हुन धेरै समय लाग्दैन ।