१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बारामा अवैध हतियारको ओसारपसार र कारोबार बढ्दो


0
Shares

बारा । सुरक्षा दृष्टिकोणले संवेदनशील मानिएको मधेश प्रदेशको बारा जिल्लामा अवैध हतियारको ओसारपसार र कारोबार बढ्दै गएको छ ।

स्थानीय निर्वाचन नजिकिएसँगै बढेको राजनीतिक सरगर्मीले पनि अवैध हातहतियार र ओसारपसारको कारोबार बढेको हो ।

केही साता अघि मात्र परबानीपुरका सनबर देबान र सिम्रौनगढ बजारबाट दुई भारतीय नागरिक स्वचालित हतियारसहित पक्राउ परेका थिए ।

इलाका प्रहरी कार्यालय कलैयाले मंसिरयता ३ थान स्वचालित पेस्तोल, ४ थान कटुवा पेस्तोल, ३ थान भरुवा बन्दुक र केही थान गोली सहित ९ जना भारतीय र नेपाली नागरिकलाई पक्राउ गरिसकेको छ ।

खुला सीमानाका कारण सीमावर्ती भारतबाट अवैध हतियार खरिद गरी नेपालमा ५ हजारदेखि २५ हजार रुपैयाँसम्ममा बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ ।

हातहतियारको ओसारपसार र कारोबार बढेको नभइ प्रहरीको कारबाही र सक्रियता बढेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेश थापाले दाबी गर्नुभयो ।

हतियारको कारोबार बढेसँगै जिल्लामा सुरक्षा चुनौती बढेको छ ।