१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सगरमाथा जाने बाटो बनाउन आइसफल डाक्टरको टोली आधार शिविर प्रस्थान


195
Shares

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमथाको ‘स्प्रिङ’ सिजनको आरोहणका लागि बाटो बनाउन आइसफल डाक्टरहरूको टोली आधार शिविर प्रस्थान गरेको छ ।

सगरमाथा प्रदुषण नियन्त्रण समिति नाम्चेबाट नौजनाको टोली त्यसतर्फ प्रस्थान गरेका हुन् । टोलीमा ६ जना आइसफल डाक्टरहरूछन् भने अन्य तीन जना सहयोगी छन् ।

सगरमाथा आरोहणको सिजन सुरु हुन लाग्दा आइसफल डाक्टर सहितको टोली बाटो निर्माणका लागि गएको सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसीसी) नाम्चकी सूचना अधिकारी याङ्जीडोमा शेर्पाले जानकारी दिनुभयो ।

हिउँमा बाटो बनाउने अनुभवी र दक्ष व्यक्तिलाई आइसफल डाक्टर भन्ने गरिन्छ । यसवर्ष आङसर्की शेर्पाको नेतृत्वमा बाटो बनाउन लागिएको हो । वर्षौं अघिदेखि सगरमाथाको बाटो बनाउने काम सरकारले एसपीसीसीलाई जिम्मा दिने गरेको छ ।

केही समययता कोरोना कहरका कारण आरोहण ठप्प भएपछि खुम्बु सुनसान बनेको छ । हरेक वर्ष हिउँ परेर बिग्रिएको पुरानो बाटो पहिल्याउदै नयाँ बाटो निर्माण गर्ने गरिन्छ ।

आइसफल डाक्टरहरूले आल्मुनियमका भ¥याङ जोडेर सगरमाथाको चुचुरोसम्म पुग्ने बाटो निर्माण गर्नेछन् । आइसफलदेखि क्याम्प–२ सम्म खर्पसमा हिउँ जम्मा भएको बाटो सफा गर्ने, डोरी टाँग्ने र भर्‍याङ राख्ने काम गरेपछि मात्र आरोही सगरमाथाको चुचुरोसम्म पुग्न सक्छन् ।

पाँच हजार ३६४ मिटर उचाइमा रहेको सगरमाथा आधार शिविरबाट छ हजार ४०० मिटरसम्म उचाइको क्याम्प दुईसम्म दर्जनौं सानाठूला हिमखाल्डा रहेका छन् ।

क्याम्प दुईभन्दा तल धेरै खाल्डा भएकाले बाटो बनाउने धेरै काम त्यहाँ गर्नुपर्ने समितिले जनाएको छ । क्याम्प दुईमाथि हिमखाल्डा खासै छैनन् । क्याम्प दुईभन्दा माथिका लागि बाटो खोल्ने तथा डोरी बाँध्ने काम आरोहण टोलीका प्राविधिकहरूले गर्छन् ।

पदमार्ग निर्माण कार्य निकै जोखिमपूर्ण हुने भएकाले आधार शिविरमा बौद्ध धर्म परम्पराअनुसार लामाबाट पुजापाठ गर्ने परम्परा छ । प्रत्येक बर्ष ‘विन्टर’ र ‘स्प्रिङ’ दुवै सिजनमा यही परम्पराअनुसार काम सुरु गरिन्छ ।

बाटो बनाउने क्रममा कुनै विपत आइ नलागोस्, सकुशल फर्कन पाऊँ, भगावानले रक्षा गरुन् र हिमाल आरोहण गर्ने आरोहीहरूमा कुनै पनि दुर्घटना नभई यात्रा सफल होस् भन्ने उद्देश्यले पूजा गरेर बाटो निर्माण थाल्ने गरिन्छ ।

यस क्षेत्रमा बाटो बनाउने काम वर्षौदेखि आइसफल डाक्टरको रूपमा परिचित शेर्पाहरूले गर्ने गर्छन् । हिमाल आरोहण गर्ने बाटो, हिउँ र बरफ खनेर डोरीको सहायताबाट निर्माण गर्नुपर्ने आइसफल डाक्टरहरू बताउँछन् ।

हिमपहिरो आएमा बनाएको बाटो बिगार्ने भएकाले एकै स्थानमा पटक–पटक बाटो बनाउनुपर्ने उनीहरूको भनाइ छ ।