१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


‘रोजगारी दिएनौ, पासपोर्ट त सजिलोसँग देऊ’

समयअघि नै सेवाग्राही आउँदा भिड बढेको विभागको तर्क

286
Shares

काठमाडौं । नागरिकको प्रत्यक्ष तालुक राख्ने सरकारी निकायको सेवा आलोचनामुक्त हुन सकेको छैन ।

नागरिकता, पासपोर्ट, वैदेशिक रोजगारी, सवारी चालक अनुमतिपत्रदेखि कर तिर्नेसम्मका काम चिनेको र किनेकोबाट मात्र फत्ते हुन्छ भन्ने आमधारणा छ ।

काठमाडौंमा छिटो हुन्छ भनेर विभिन्न जिल्लाबाट राहदानी बनाउन आउनेहरूको लाइनले त्रिपुरेश्वरस्थित राहदाबनी विभाग भरिभराउ छ ।

काठमाडौंबाट ५ दिनमै राहदानी बनाउँला भनेर आएका उनीहरू अहिले कार्यालयको व्यवस्थापन र कर्मचारीको सौहार्द व्यवहार नगरेको गुनासो गर्छन् ।

कुन समय लाइन लाग्नुपर्ने, कुन समय अन्त्य हुने त्यसको कुनै आधिकारिक बाटो छैन । घर परिवार पाल्न श्रम बेच्न हिँड्ने तरखरमा रहेका नेपाली युवाहरूको छटपटीको अभिव्यक्ति लाइनमै छरपस्टिन्छ ।

एकातिर मेनपावर कम्पनीको पासपोर्ट बुझाउन ताकेता अर्कातिर सरकारी निकायको झन्झटिलो प्रक्रियाका कारण उनीहरू दोहोरो मारमा छन् ।

सरकारले सबै जिल्लाबाट पासपोर्ट बनाउने त भनेको छ तर ढिलो हुने बाहाना बनाएर तल्लो निकायले सेवाग्राहीलाई केन्द्रमै जान प्रोत्साहित गर्ने गरेका छन् ।

कोभिड संक्रमण मत्थर भएसँगै विद्यार्थी र श्रम बेच्न खाडी मुलुक जानेहरूको ठूलो संख्या यतिखेर पासपोर्ट बनाउन, नविकरण गर्न लाइनमा छ । सेवाग्राहीको भीड व्यवस्थापन राहदानी विभागलाई हम्मे–हम्मे परेको छ ।

साँघुरो र अव्यवस्थित कार्यालयका कारण नारायणहिटी संग्रहालय परिसरमा रहँदा व्यवस्थित बन्न नसकेको लाइन अहिले आफ्नै नवनिर्मित फराकिलो स्थानमा सारिए पनि अभाव, दबाव र प्रभाव घटेको छैन ।

स्थानीय तहबाट सहयोग र समन्वय नभएकै कारण यस्तो अवस्था आएको उनीहरूको गुनासो छ । कार्यालय १० बजे खुल्छ, सेवाग्राही राती नै आएर लाइनमा बस्छन् । लाइन लाग्नेहरू यसलाई आफ्नो बाध्यता बुझ्छन्, कार्यालका पदाधिकारीहरू व्यवस्थापनमा चुक्छन् ।

टन्टलापुर घाममा भोक तिर्खा नभनी पाइला–पाइलामा लाइन लाग्दाको पीडा धान्न नसकेर सेवाग्राही आक्रोशित हुन्छन् । उनीहरूलाई थामथुम पार्न अर्को महाभारत हुन्छ ।

आफ्नो देशमा काम र मामको ठेगान नभएपछि विदेशिन लागेका युवाहरूमा पासर्पोर्ट लिन समेत मरिहत्ते गर्नुपरेको पीडा छ । गुणस्तरीय शिक्षा र रोजगारी उपलब्ध गराउन नसकेको सरकारले पासपोर्ट मात्र सजिलोसँग उपलब्ध गराइदिन आफूहरू खुसी हुने उनीहरू बताउँछन् ।

राहदानी विभागका निर्देशक तथा प्रवक्ता शरदराज आरण भने सेवाग्राहीको चाप धान्न निकै मुस्किल भएको बताउँदै जनचेतनाका अभावका कारण भीड अनियन्त्रित बनेको बताउनुहुन्छ ।

प्रविधिले कहिलेकाहिँ समस्या दिने गरेको स्वीकार्दै उहाँले दिइएको समयमा सेवाग्राही नआएर धेरै चाँडै आइदिँदा भिड भएको तर्क गनुहुन्छ ।

निर्णय गर्ने तर कार्यान्वयन प्रभावकारी नहुने सरकारी शैलीको परिणामले यस्तो अवस्था दोहोरिएकोमा दुईमत छैन । नीति निर्माताहरूले कागजी घोडामा गर्ने निर्णयलाई व्यवहारिक पक्षको कसी जोख्नु अपरिहार्य छ ।