
काठमाडौं । इंग्लिस फुटबल क्लब चेल्सी र स्पेनको भिल्ला रियल च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
फ्रान्समा बुधबार राति भएको राउण्ड अफ सिक्सटिनको दोस्रो लेगको खेलमा स्थानीय टोली लिलमाथि २–१ को जित निकाल्दै चेल्सी क्वाटरफाइनलमा पुगेको हो । यसअघि आफ्नै मैदानमा भएको पहिलो लेगको खेल २–० ले जितेको चेल्सीले बुधबार रातीको जितपछि समग्रमा खेल ४–१ ले आफ्नो पक्षमा पारेको हो ।
दोस्रो लेगको खेलको ३८ औं मिनेटमा बुराक यिलमाजले गोल गर्दै लिललाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको इन्जुरी समयमा क्रिस्टियन पुलिसिचले गोल गर्दै चेल्सीलाई १–१ को बराबरीमा ल्याए । त्यसपछि ७१ औं मिनेटमास सिजर एजप्लिक्वेटाले गोल गर्दै चेल्सीलाई २–१ को जित दिलाए ।
च्याम्पियन्स लिगकै अर्को खेलमा इटालीयन क्लब युभेन्टसलाई नक आउट गर्दै स्पेनको भिल्ला रियल पनि क्वाटरफाइनलमा पुगेको छ । युभेन्टसकै मैदानमा बुधबार राति भएको खेलमा भिल्ला रियल ३–० ले विजयी भयो । पहिलो लेगको खेल १–१ गोलको बराबरीमा टुंगिएको अवस्थामा बुधबार रातिको फराकिलो जितसँगै भिल्ला रियल क्वाटरफाइनलमा पुगेको हो ।
दोस्रो लेगको खेलको ७८ औं मिनेटमा जेरार्ड मोरेनोले गोल गर्दै भिल्ला रियललाई अग्रता दिलाएका थिए । ८५ औं मिनेटमा पाउ टोरेसले गोल गर्दै भिल्ला रियललाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा अर्नाउट डान्जुमाले गोल गर्दै भिल्ला रियललाई ३–० को सहज जित दिलाए ।
प्रतिक्रिया दिनुहोस्