२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सडक निर्माणको जिम्मा लिएको निर्माण व्यवसायी नै ठगी आरोपमा पक्राउ परेपछि सडक अलपत्र


156
Shares

दाङ । दाङको तुलसीपुर–घोराही चारलेन सडक निर्माणको काम अलपत्र परेको छ । सडक निर्माण सुरु भएको झण्डै ३ वर्ष बितिसक्दा पनि सडकको अवस्था लथालिङ्ग छ । सडक निर्माणको जिम्मा लिएका निर्माण व्यवसायी नै ठगी आरोपमा पक्राउ परेपछि सडक अलपत्र परेको हो ।

दुई लेनबाट चारलेनको सडक बन्न लागे पछि स्थानीय बासीन्दा धेरै खुशी भएका थिए । तर, ३ वर्षसम्म सडक निर्माण नहुँदा उनीहरु सास्ती खेप्न बाध्य छन् । सडक निर्माण थालेको ३ वर्ष हुँदा पनि ७ प्रतिशत काम पनि सकिएको छैन् । स्थानीय बासिन्दा धुलो, धुँवाले हैरान भएका छन् । दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले निर्माणको जिम्मा लिएको कम्पनीबाट सडक निर्माण हुन नसक्ने बताउनुभयो ।

घोराहीको बबई नदिदेखि तुलसीपुरको हात्तीखौवासम्म झण्डै २८ किलोमिटर सडक निर्माण कार्य २०७५ पुस १३ गतेदेखि सुरू भएको थियो । भारतको मुम्बईमा रहेको तथ्य इन्जिनियरिङ कम्पनीले १ करोड २१ लाख ८२ हजार अमेरिकी डलरमा निर्माणको जिम्मा लिएको थियो । तथ्य इन्जिनियरिङ कम्पनीले श्रेष्ठ कन्ट्रक्सनलाई निर्माणको लागि जिम्मा दिएको थियो । श्रेष्ठ कन्ट्रक्सनले अष्टभैरव निर्माण सेवा कम्पनीलाई ठेक्का दिएको थियो । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले सडक निर्माणको जिम्मा लिएको अष्टभैरव निर्माण कम्पनीका संचालकलाई ठगी आरोपमा पक्राउ गरिएको जानकारी दिनुभयो ।

सडक निर्माणको क्रममा १ हजार २ सय ७५ वटा रुखहरु कटानको लागि अनुमति दिए पनि ७ सय रुखहरु काटिएको छ । दाङको गौरवको आयोजनाका रुपमा लिइएको चारलेन सडक ३ वर्षसम्म पनि सम्पन्न नहुँदा सडक दुर्घटनामा धेरैको अकालमा मृत्यु भएको छ ।