७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


मिथिलाको माध्यमिकी परिक्रमा जनकपुर आइपुग्यो


78
Shares

जनकपुर । मिथिलाको महाकुम्भ मानिएको मिथिला माध्यमिकी परिक्रमा जनकपुर आइपुगेको छ ।

१५ दिनपूर्व धनुषाको मिथिला विहारी नगरपालिकामा रहेको कचुरी मठबाट मिथिला विहारी र जनकपुरधामको अग्नीकुण्डमा रहेको किसोरीजीको डोलाले सम्पुर्ण परिक्रमा भरि नेतृत्व गर्ने गरेका छन् । दुई डोलाको पछाडि हजाराँंको संख्यामा साधु सन्तहरुले परिक्रमा गरेका छन् ।

प्रत्येक वर्ष फागुन महिनामा जनकपुर क्षेत्रको धार्मिक स्थलको परिक्रमा गर्ने चलन रहेको छ । जनकपुरको चारैतिर घुमिने यस परिक्रमामा सहभागी भएपछि एक सय आठ तीर्थ स्थल बराबरको फल प्राप्त हुने जनविश्वास रहेको श्रद्धालुहरुले बताएका छन् ।

परिक्रमामा सहभागि भएकाहरु १५ दिन सम्म आफ्नो घर नफर्कने चलन रहेको छ । परिक्रमामा सहभागी यात्रीहरुले नेपालका १ सय ७ एवं भारतको २६ गरी १ सय ३३ किलोमिटर भूमिको पैदलयात्रा तय गर्ने गर्दछन् । नेपाल र भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सद्भावका प्रतीक बनेको परिक्रमा यात्राको क्रममा नेपालमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल छन् ।

सोही क्रममा धनुषाको हनुमाननगरबाट भारत बिहारको कल्याणेश्वर, फुलहर तथा महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड हुँदै परिक्रमा कञ्चनवन पुग्दछ । कञ्चनवनमा परिक्रमावासीहरु एक आपसमा होली खेले पछि औपचारिक रुपमा होलीको सुरुवात भएको मानिन्छ । त्यसपछि धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरही, विशौल हुँदै पुनः कल्याणेश्वर पुगेर जनकपुर फर्केर विश्राम गर्छन् ।

फागुन पुर्णिमाका दिन परिक्रमावासीहरु जनकपुरको अन्तगृह परिक्रमा पुरा गरेर घर फर्कने परम्परा रहिआएको छ । मिथिला महात्मयमा उल्लेख भए अनुसार वृहत, मध्यमा एवं लब्धी गरि तीन प्रकारको परिक्रमा छ जसमध्ये मध्यमा अर्थात मिथिला माध्यमिकी परिक्रमाको आफनै विशेषता छ ।

किसोरीजी डोलाका महन्थ नवलकिसोर शरणले परिक्रमा परिवारिक कल्याणको लागि गरिने गरिएको बताउनुभयो । १५ दिन सम्म साधु सन्तहरु र श्रद्धालुहरु एकै ठाउमा बसेर भजन किर्तन गर्ने गरिएको उहाँले बताउनुभयो ।

यता, जिल्ला प्रशासन कार्यालय धनुषाले फागु पूर्णिमाको अवसरमा जनकपुरधाम उपमहानगरपालिका भित्र दुई दिनसम्म माछा, मासु तथा मदिरा बिक्रि वितरण नगर्न निर्देशन दिएको छ । फागु पूर्णिमाको पूर्वसन्ध्यामा मिथिला माध्यमिकी परिक्रमालाई ध्यान दिदैँ यस्तो निर्देशन दिइएको हो ।

बिहीबार परिक्रमामा सहभागी जनकपुरधाममा भगवान श्रीराम जानकीको डोला आउनेछ र शुक्रवार मध्यमा परिक्रमासँगै अन्तगृह परिक्रमा घुम्ने भएकोले त्यसलाई दृष्टिगत गर्दै प्रशासनले माछा, मासु र मदिरा विक्री वितरणमा रोक लगाएको हो ।