२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


भाडा बढाउने दबावमा व्यवसायी, सरकारको छैन कुनै तयारी


182
Shares

काठमाडौं । दिनदिनै इन्धनको मूल्य बढेसँगै यातायात व्यवसायीहरुले सार्वजनिक सवारी साधनको भाडा बढाउन दबाव दिइरहेका छन् । भाडा समायोजनमा सरकारले तदारुकता नदेखाए बढेको भाडा आफैं घोषणा गर्ने धम्की उनीहरुको छ । यद्यपि सरकारसँग कुनै स्पष्ट जवाफ छैन । यसअघि भाडा समायोजन हुँदा तोकिएको भाडादरभन्दा बढी भाडा तिर्दै आएका उपभोक्ता भने तमासे बन्न बाध्य छन् ।

जति-जति इन्धनको मूल्य बढ्छ , यातायात व्यवसायीको धम्की शुरु हुन्छ । कोभिडका कारण आफ्नो व्यापार व्यवसाय ब्यूँतिन नसकेको गुनासो गर्दै आएका उनीहरु वर्तमान भाडादरमा सेवा दिन नसक्ने निष्कर्षमा पुगेका छन् । यो हप्ताभित्र मागको सुनुवाइ नभए आफूखुसी भाडा बढाउने चेतावनी पटक-पटक दोहो¥याएका छन् । ९ महिनामा ९ पटक इन्धनको मूल्य बढ्दा पनि भाडादर समायोजन नहुँदा आफ्नो धैर्य टुटेको नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य बताउनुहुन्छ ।

ट्रक व्यवसायीहरुले पनि भाडा समायोजन नभए सम्पूर्ण ढुवानीका साधन ग्यारेजमा थन्काउने घुर्की लगाएका छन् । पटक पटक इन्धनको मूल्य वृद्धि भएपछि सार्वजनिक यातायातको वैज्ञानिक भाडा समायोजन हुनुपर्ने व्यवसायीहरुको माग स्वभाविक भएको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरे बताउनुहुन्छ ।

भाडा समायोजनका बारेमा मन्त्रालय र विभागले कुनै निष्कर्ष ननिकालेपछि व्यवसायीहरु प्रधानमन्त्रीतहमा समस्या लैजाने सुरसारमा छन् । तर विभाग भने उपभोक्ता र व्यवसायी दुवैलाई मर्का नपर्ने गरी आफूहरु छलफलमा जुटेको बताउँ छ ।

व्यवसायीका आफ्ना मुद्दा छन, सरकार आफ्नो निर्णय गर्न स्वतन्त्र छ । तर जनताको चुल्होसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा गरिने निर्णयका विषयमा भने कसैको ध्यान गएको छैन । यसअघि छोटो दूरीमा न्यूनतम १८ रुपियाँ भाडादर कायम गरेको थियो । तर व्यवसायीले खुद्रा नभएको निहुँमा बीस रुपैयाँ असुल गर्दै आएको छन् ।